२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विमानस्थल निर्माणमा खेलबाड

कान्तिपुर संवाददाता

काठमाडौँ — २७ वर्ष अघिदेखि निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय उठान भए पनि ठोस काम हुन सकेको छैन  । यसै विषयमा शुक्रबारको ‘जंगल जोगाउने कि विकास गर्ने ?’ खबर पढेपछि यो विषयमा थप विश्लेषण जरुरी देखियो  ।

विमानस्थल निर्माणमा खेलबाड

एकातिर विज्ञको मतैक्यता देखिंदैन भने अर्कोतिर यसको निक्र्यौल गर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको संसदीय उपसमिति निजगढको स्थलगत भ्रमणमा जान लागेको सन्दर्भले नेताहरू पनि अझैसम्म अन्योलग्रस्त रहेको पाइन्छ । विमानस्थल निर्माण क्रममा १६४१.१ हेक्टर वन क्षेत्रमा ५० प्रजातिका २४ लाख ५० हजार रूख कटान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अग्रसर रहेको सन्दर्भ युक्तिसंगत देखिंदैन । हचुवाको भरमा गरिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) एवं वर्षायाममा पसाहा र लालबकैया खोलाको बाढीले दु:ख दिने विषयले अरू चासो बढाएको छ । यी समस्याबाहेक अनगिन्ती प्रश्न छन् : पहिलेदेखि डाँका–आतंकले ग्रस्त निजगढ क्षेत्र भारतीय सीमासमेत नजिक भएको हिसाबले जहाज र विमानस्थल राष्ट्रिय, अन्तर्राष्ट्रिय आतंकवादीको निसाना नबन्ला भन्न सकिन्न । जंगल नजिक नभएको त्रिभुवन विमानस्थलमा चिल, गिद्द विमानमा ठोकिएर समस्या बढेको बेला चारैतिरबाट होटल र जंगलले घेरिएको निजगढ विमानस्थलको चरा–आतंक कसले रोक्ने ? वन सम्पदाबाहेक जंगली पशुपंक्षी, जैविक विविधताको विनाश, वातावरणीय ह्रास, मरुभूमीकरण, पानीको हाहाकार पर्ने सन्दर्भको लेखाजोखा खोइ ?
–भुवनेश्वर शर्मा, चन्द्रागिरी–२, काठमाडौं

प्रकाशित : आश्विन २८, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?