हरे यो दसैंं
काठमाडौँ — पहेंलपुर सयपत्री बगैंचामा
मिरमिरे पारिलो घाम आँगनीमा
पिङसरि मच्चिने हाम्रो मन
खुसी भई उफ्री उफ्री हिँड्ने हाम्रो तन
आहा, त्यो दसैं !
पहेंलपुर सयपत्री बगैंचामा
मिरमिरे पारिलो घाम आँगनीमा
पिङसरि मच्चिने हाम्रो मन
खुसी भई उफ्री उफ्री हिँड्ने हाम्रो तन
आहा, त्यो दसैं !
अहिले आ–आफ्नै सुरतालमा सब
भेटिइएला बल्ल बिदा आउला जब
झुरुम झुरुम च्युरा खाइन्छ कहाँ ?
रेडिमेड लुगा पाइन्छ जहाँतहाँ
हरे, यो दसैं !
एकैसास एकैसाथ पढिने ‘कवच, अर्गल, किलक’
‘न मन्त्रं...’ र प्रलाप–माला पुष्पाञ्जली
बेलाबेला बज्ने घण्टा, डमरु, नगराहरू
हावामा बहने गोकुल अनि सुगन्धी धूपहरू
आहा, त्यो दसैं !
भ्याइनभ्याई हतारो अनि लतारो
सधैंभरि अफिस अनि कामैको चटारो
समय त छ तर छैन आफंैलाई
‘शैलपुत्री न कालरात्रि’, मतलब छैन कसैलाई
हरे, यो दसैं !
पोस्टकार्डमा सजाइने शुभकामना–चित्रहरू
बाटोबाटोमा थापिने लंगुरबुर्जा र राफल चिठ्ठाहरू
निधारमा रहने मान्यजनका शुभाशीष टीकाहरू
घर–घर अनि मामाघर, दौडादौड अनि छोपाछोप
आहा, त्यो दसैं !
सोह्रश्राद्धैदेखि फरवार्डेड मेसेजले भरिन्छन् भाइबर र मेसेन्जरहरू
पढ्ने फुर्सद कसलाई ? फरवार्ड गर्नै हतारो
स्काइप र भिडियो च्याटमै भेटिन्छन् मान्यजनहरू
दण्डवत् कहाँ अनि निधारमा टीका कहाँ ?
हरे, यो दसैं !
प्रकृति र संस्कृतिको सजीव समागम
आहा, त्यो दसैं !
कृत्रिमता र पाखण्डको कुरूप गठबन्धन
हरे, यो दसैं !
–डा. अजय रिसाल, धुलिखेल अस्पताल, काभ्रे