१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

संस्कृतिमै विकृति

कान्तिपुर संवाददाता

काठमाडौँ — समय अनुसार सांस्कृतिक स्वरुप परिवर्तन तथा परिष्कार हुनु स्वाभाविक हो । चाडपर्व मनाउने शैलीमा मात्र नभई मानवीय पक्षमा समेत परिवर्तन आउनु कुनै नौलो होइन । यो प्राकृतिक नियमको अभिन्न अंग हो । तर संस्कृति रूपान्तरणको नाममा निकृष्ट तथा निन्दनीय विकृति उत्पन्न गराउन प्रतिस्पर्धा गर्नुलाई राम्रो मान्न सकिँदैन ।

संस्कृतिमै विकृति

संस्कृतिको नाममा विकृतिले प्रश्रय पाउनु खतराको संकेत हो । अहिले विजयादसमीको माहोल छ । अर्को महान चाड दिपावली र छठ पनि नजिकै छन् । सन्तुष्टि, मनोकांक्षा, फुर्सद, मनोरञ्जन लगायतका विषयसँग प्रत्यक्ष सरोकार राख्ने सर्वोत्तम बेला भनेकै यही हो । चाडपर्वको पछाडिको पृष्ठभूमि तथा अनन्त धार्मिक महत्त्वलाई कागजमा समेट्न साध्य छैन । यसको मानव जीवनमा उपयोगितादेखि प्रभावकारिताको विशेष मूल्याङ्कन गरिन्छ ।


यस्ता चाडपर्वको नाममा नयाँ मोडलको विकृति अपनाउनु गलत छन् । दसैं सुरु भएसँगै राजधानीमा मात्र नभई उपत्यका बाहिर पनि मिनिक्यासिनो शैलीमा जुवाखाल फस्टाएका छन् । क्यासिनोकै शैलीमा चलाइएका जुवाखालमा दैनिक करोडौंको हारजित हुने गरेको छ । १९ असोजमा प्रहरीले छापा मार्ने क्रममा तीन तलाबाट हामफालेर भाग्न खोज्दा दुईजना जुवाडेको मृत्यु भएको थियो । चाडपर्वकै नाममा मदिरा सेवन तथा लागुपदार्थ दुव्र्यसन गर्नेको संख्या पनि वृद्धि भएको छ ।


आजभोलि पूजाअर्चनाको शैलीसमेत परम्परागत र मौलिकताभन्दा धेरै फरक भइसकेको छ । पूजाअर्चनामा मनोरञ्जन गर्नेको कमी छैन । मूर्तिकै अगाडि ड्रामा, डिजे, कन्सर्टजस्ता सांगीतिक कार्यक्रमको आयोजना हुने गर्छ । भक्ति दर्शनलाई अवमूल्यन गर्दै भोजपुरी अश्लील गीतमा कम्मर हल्लाउने प्रतिस्पर्धा युवाहरूमा चलेकै छ । मूर्तिको विसर्जन पनि समस्याग्रस्त छ । जसकारण झैझगडा र मारपिट सामान्य भइसकेको छ । गतवर्ष सरस्वती माताको प्रतिमा सेलाउन जाँदा पर्साकै ग्रामीण क्षेत्रमा एकजनाको
प्राण उडेको थियो । चाडपर्वकै नाममा अव्यवस्थित र अवैज्ञानिक प्रवृत्तिको मेला आयोजना गर्नमा धेरैजसो नगर र गाउँहरू क्रियाशील छन् । वीरगन्जको रातो बंगलामा राखिएको ह्युमपाइपलाई मेला प्रयोजनले स्थान्तरण गर्दा अव्यवस्थित बनेको ह्युमपाइपमा खेल्ने क्रममा स्थानीय ९ वर्षीय बालक रोहित चौधरीको ज्यान गयो । संस्कृतिको निरन्तरताको साथ व्यवस्थापन पक्षलाई किन बिर्से सरोकारवालाहरूले ?


म्याद नाघेका कोल्ड ड्रिंक्स, गुणस्तरहीन खाद्यपदार्थको किनबेच खुलेयाम हुँदैछन् । नियमित अनुगमन भएको छैन । उपभोक्तालाई निर्वाध रूपमा बजारले लुट्दैछ । नालाकै छेउमा प्रदूषित वातावरणमा जिलेबी बिक्री हुँदैछन् । यदि संस्कृतिको नाममा यस्तै विकृति भइरहन्छ भन्ने संस्कृति केका लागि ?
– ऋतिक यादव, सिम्रौनगढ–१०, बारा

प्रकाशित : आश्विन २९, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?