विवेकशील साझालाई झट्का

काठमाडौँ — समाज बदल्ने एवं पुरानो राजनीतिमा देखिएका विसंगति र विकृतिलाई चिर्ने मनसाय राखेर राजनीतिमा होमिएका साझा पार्टी र विवेकशील नेपालीबीच भएको पार्टी एकता दुई वर्ष टिकेन । विवेकशील साझा पार्टी छाडेर १६ जना केन्द्रीय सदस्यले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएका छन् ।

विवेकशील साझाका रवीन्द्र मिश्र तथा पार्टी छाडेका उज्ज्वल थापा दुबै जनामा कहीं न कहीं कमजोरी पक्कै रहेछन् । पार्टीभित्रै समस्या पहिचान हुन नसक्दा फुट्ने नेपाली दलहरूको रोग विवेकशील साझा पार्टीलाई पनि लागेको छ । लहडले मात्र राजनीति गर्न सकिन्न । राजनीतिलाई उत्कर्षमा पुर्‍याउन केही धैर्य राख्ने क्षमता नेतामा हुनुपर्छ । चाँडै नतिजा खोज्दैमा राजनीति दिगो हुन सक्दैन र लोकप्रिय बन्न सकिँदैन भन्ने बुझ्नुपर्छ । थापा पक्षबाट सामान्य मतभेद भएको भनिए पनि एकाएक विग्रहसम्मका निम्ति बाटो रोज्नु किमार्थ राम्रो मान्न सकिन्न । मिलेर मुलुक हाँक्नेभन्दा फुटाएर देखाइदिने रोगले अन्तत: विवेकशील साझालाई ठूलै झट्का लागेको छ ।

– श्यामसुन्दर कुइँकेल, हाडीगाउँ, काठमाडौं

***


दलीय राजनीतिको फाँटमा विवेकशील साझा पार्टीले तरंग ल्याएकै थियो । रवीन्द्र मिश्र र रञ्जु दर्शनाले गएको चुनावमा पाएको मतले आगामी चुनावमा यस पार्टीले दह्रो स्थान हासिल गर्ला भन्ने आशा पनि जगाएकै हो । तर डेढ वर्ष पनि पुरा नहुँदै पार्टी फुट्यो । पार्टीको उदयकालमै यसले पनि नेपालको राजनीतिमा खासै अर्थ राख्दैन भनेर आंँकलन गर्नेहरूको विश्लेषणलाई सही सावित गर्न बल पुगेको छ । त्योभन्दा पनि युवा पुस्ताका शिक्षित र प्रखर व्यक्तित्वले राजनीतिको नेतृत्व नगरेसम्म देश बन्दैन भन्ने आममानिसको जुन धारणा छ, त्यसमा ठेस लागेको छ । पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्ज्वल थापाबीच समझदारी स्थापित हुन नसकेर पार्टी फुट्छ भने जीवनको अन्तिम घडीसम्म पद बोक्न लालायित भएका राजनीतिक दलहरू फुट्नु र जोडिनुमा के आश्चर्य भन्ने प्रश्न सामान्य वन्न गएको छ ।

– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : पुस ३०, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?