भ्रष्टाचारको पहाडमा डोजर

कान्तिपुर संवाददाता

काठमाडौँ — करिब १८ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गर्ने आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काले साढे २ करोड धरौटी बुझाएर तारिखमा छुटेको खबर आयो ।

खड्काले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी जुन भ्रष्टाचार गरे, प्रत्यक्ष रूपमा हाम्रो साइनो गाँसिएको विषय हो । किनभने हामीले तिरेको करबाट यिनले यति धेरै रकम आफ्नालागि थुपारेका हुन् । जनताबाट उठेको करमा भ्रष्टाचारको होली चलिरहेको छ । उच्च ओहदामा बसेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिले पुस्तौंलाई धान्ने भएपछि किन गर्नु अरू दु:ख भन्ने मानसिकता हावी हुँदै गएको छ । ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नारा आज सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँमा भन्न थालेजस्तो भएको छ । प्रधानमन्त्री भ्रष्टाचारी लुक्न सक्दैनन् भन्दै हिँंडेका छन्, तर प्रधानमन्त्रीकै खिलापमा काम भइरहेको छ । समृद्धिको सबैभन्दा ठूलो बाधक भनेकै भ्रष्टाचार हो भन्नेबारे बहस भए पनि यसलाई जरैदेखि उखेल्न चुनौतीपूर्ण छ । स्थानीय तहमा पनि भ्रष्टाचार फैलिन थालेको छ । मुहान सफा नगरी पानी सफा पक्कै आउँदैन । सफा पानी पिउन मुहानमा नै सफा गर्नुपर्छ । मुहान हैन, कुलोमात्र सफा गर्ने, तर मुहानमा नपुग्ने अवस्था भएकाले भ्रष्टाचार फैलिरहेछ । भ्रष्टाचारको फोहोरलाई मुहानबाट नै सफा गर्न नातावाद र कृपावादभन्दा माथि उठेर सरकार लाग्न जरुरी छ । सरकारलाई भ्रष्टाचारीको पछि लाग्दैमा फुर्सद हुँदैन, अनि कहिले गर्ने विकासको काम ?
– गोविन्द विक, कपन, काठमाडौं

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?