स्काउटमा बेथिति
काठमाडौँ — आज एकजना साधारण विद्यालयमा पढ्ने विद्यार्थी स्काउट हुनसक्ने स्थिति छैन ।
युनिफर्म, भर्ना, क्याम्प, बेल्ट, ब्याज, बेल्ट, टोपी, डोरी सब थोकको पैसा आफै तिर्नुपर्छ । नाफा खाने स्काउट मास्टर पर्यो भने कुरै छाडौं । ७–८ सय रुपैयाँमा सम्पन्न हुने दुई रात तीन दिनको क्याम्पलाई ४–५ हजारसम्म लिनेहरू छन् । ३०–४० रुपैयाँको डेढ मिटर डोरीको १ सय रुपैयाँ असुल्ने पनि देखिएको छ । एउटा क्याम्प गरेरै स्काउट मास्टरले मोटरसाइकल किनेका उदाहरण छन् ।
स्काउट मास्टर ट्रेनिङका नाममा जिल्ला स्काउट कार्यालयहरूले स्थानीय तह र नेपाल स्काउट केन्द्रीय कार्यालयबाट पुग्दो रकम आउँदा–आउँदै प्रशिक्षार्थीबाट पनि शुल्क संकलन गर्छन् । सहयोगीलाई दिनुपर्ने रकम आयोजकले खान्छन् ।
आफ्नो पैसा खर्च गरेर विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुनजाँदा त्यसको १० प्रतिशत रकम नेपाल स्काउट केन्द्रीय कार्यालयलाई प्रशासनिक खर्चका नाममा बुझाउनुपर्छ । कर्मचारी र पदाधिकारी त्यही स्काउटका लागि आएको बजेटले विदेश भ्रमणमा जान्छन् । विदेशबाट युवा स्काउटका लागि आउने कार्यक्रमका कोटामा पदाधिकारीका नजिकका मान्छे जान्छन् । नेपाल स्काउटमा एसएलसीधरी पास नभएका प्रशिक्षक भेटिन्छन् । जिल्लाका पदाधिकारी र विद्यालयका स्काउट मास्टरको औपचारिक शिक्षा दयनीय छ ।
केही समयअघि युवा स्काउटले आन्दोलन गरे, केही परिवर्तन आए जस्तो पनि भयो । तर ती पनि आआफ्नो स्वार्थमा अल्झेर फुटे । यस्तैगरी चल्दै जाने हो भने नेपाल स्काउटमा पदाधिकारी, स्काउट मास्टर अनि नेता–कर्याकर्तामात्र बाँकी रहनेछन् । बालबालिका, किशोर–किशोरी र युवाका लागि भन्ने र बजेट त्यही अनुसार माग्ने तर उनीहरूको कार्यक्रममा ध्यान नदिने हो भने कति दिन निजी विद्यालयका अभिभावकले स्काउटलाई धान्ने हो ?
– अर्पण कार्की, स्काउट मास्टर/रोभर लिडर