२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

नेताको जिब्रो चिलाउने रोग

कान्तिपुर संवाददाता

काठमाडौँ — हचुवाका भरमा नीति–नियमका वकालत गर्न प्रधानमन्त्री लगायत अर्थमन्त्री, उद्योगमन्त्री, शिक्षामन्त्री, गृहमन्त्रीको बेला–बेलामा जिब्रो चिलाउने गर्छ ।

नेताको जिब्रो चिलाउने रोग

कहिले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने, कहिले जग्गा सरकारीकरण गर्ने, कहिले सेयर बजारलाई असर पर्ने कुरा गर्नुहुन्छ, कहिले भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्नुहुन्छ, यता अख्तियारका आयुक्तबाट नै भ्रष्टाचार हुन्छ । कहिले तेलचोर सांसदभन्दा रिसाउनु हुन्छ, कहिले वाइड बडी काण्डको बचाउ गर्नुहुन्छ । कहिले निर्मला हत्याकाण्डका हत्यारा पत्ता लागिसके भन्नुहुन्छ, कहिले वर्षौं पनि लाग्न सक्छ भन्नुहुन्छ । हुन त मदन भण्डारीको हत्यारा अहिलेसम्म कहांँ पत्ता लाग्यो र ?


कहिले युवा स्वरोजगार कार्यक्रम त कहिले सामाजिक सुरक्षा कार्यक्रम भनेर जनताका आंँखामा धुलो छर्ने काम भएको छ । यस्ता बकम्फुसे तुक बिनाका भाषणले आमजनता र निजी क्षेत्रलाई बिच्काएको छ । पछिल्लो समय निजी क्षेत्रलाई यस्ता भाषणले निरुत्साहित बनाएको छ । निजी क्षेत्रको सफलताबिना देशको सफलता असम्भव छ । दोहोरो, तेहोरो कर प्रणाली । करमात्रै असुल गर्नुपर्छ भन्ने मान्यताले लगानीको वातावरण छैन । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । उत्पादनमूलक क्षेत्रमा सरकारको पटक्कै ध्यान गएको छैन । पानीजहाज र ग्यास पाइप लाइनको त कुरै नगरौं । पानीजहाज होइन, खानेपानीको आवश्यकता छ ।


१८ तले भ्युटावरको आवश्यकता होइन, भुइँको सडक मर्मत गर्न जरुरी छ । वैदेशिक लगानी घटेको छ, पुँजीबजार खस्किएको छ, सोधनान्तर घाटा बढ्दो छ । भ्रष्टाचार सूचाकांकमा देश झनै खस्किएको छ । उद्योगधन्दा ठप्प छन् । स्वास्थ्य क्षेत्रमा माफियातन्त्र बढ्दैछ । प्रचण्डको भेनेजुएला कूटनीतिक अपरिपक्व देखियो । यसले अमेरिकालाई चिढाउने काम भएको छ । हाम्रा नेताहरूको जिब्रोमा आखिर त्यस्तो के छ र बेला–बेलामा चिलाउने गर्छ ? यस्ता बकम्फुसे र तुक बिनाका हचुवाका भरमा गरिने भाषणले आम जनमानसमा निराशा पैदा गरेको छ । यसको असर कूटनीतिक क्षेत्रमा समेत परिसकेको छ । अनावश्यक बहकाउ र भावनामा नबगी विवेक र बुद्धिले भाषण गर्ने बानी बसालौं । झन्डै दुई तिहाइ मत प्राप्त नेकपा डबल पार्टीको सरकारका हस्तीहरूको खराब जिब्रोलाई सर्भिसिङ गर्न जरुरी देखिन्छ, ताकि ती जिब्राले जनता, सिंगो देश र कूटनीतिक क्षेत्रलाई दूरगामी नकारात्मक असर नपारोस् ।
– भुवनसिंह पाण्डे, बुढानीलकण्ठ–८, काठमाडौं

प्रकाशित : फाल्गुन ८, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?