ज्ञानकेन्द्र स्थापनाको अवसर

कान्तिपुर संवाददाता

काठमाडौँ — कुशासन, गरिबी, पछौटेपन, भ्रष्टाचार, तस्करी, हत्याहिंसा, असफल कूटनीतिजस्ता कारणले हामी निरन्तर विश्वसामु शिर झुकाउन बाध्य छौं  । सबैबाट अपहेलित हुँदा पनि नयाँ सोच, दृष्टिकोण राखेर समृद्धिमा फड्को मार्ने योजना अझै बन्नसकेको छैन  ।

हाम्रो देशभन्दा २११ गुणा सानो सिंगापुरले मुलुकलाई सूचना प्रविधि र शिक्षाको ‘हव’ बनाएर विश्वलाई चकित तुल्याएको सन्दर्भ हाम्रालागि सर्वोत्कृष्ठ र अनुकरणीय उदाहरण बन्न सक्छ । हाम्रा विशेषता, पौराणिक मान्यता, पूर्वीय ज्ञानको उद्भव, स्थानीय प्रविधि, रीतिरिवाज, कला, संस्कार, संस्कृति, पर्वतीय सुन्दरताको वैशिष्ट्य नै हाम्रा आभूषण हुन् । यसले विश्वलाई निरन्तर खुराक दिन सक्छ । नेपाल भ्रमण वर्ष २०२० लाई समेत ध्यानमा राखेर मुलुकभर नवीन क्रियाकलाप सञ्चालन गर्न कतैबाट अप्ठ्यारो पर्ने देखिंँदैन । जनकपुरमा रामायणकालीन नाट्य मञ्चन, मन्त्रोच्चारण, लुम्बिनीमा बौद्धमार्गीको कुम्भमेला सञ्चालन, दाङस्थित संस्कृत विश्वविद्यालयको संयोजनमा देशभर वैदिक ज्ञान प्रचारको थालनी, तनहुँको व्यास गुफा क्षेत्रमा व्यास ऋषिका विविध आयाम र तपस्वी जीवनको महिमा, मूर्धन्य साहित्यकारहरूको बहुआयमिक विवेचना, लोककला, लोकगाथा, लोकभाषाको परिचय, ध्यान शिविरको उपादेयता, पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति विस्तार गर्न उपयुक्त स्थानहरूमा ‘ज्ञान भण्डार’ स्थापना र परिचालन, स्थानीय कृषि प्रविधि, जैविक खाद्य पदार्थको उपभोग, पाराग्लाइडिङ, राफटिङ, हिमाल आरोहण कला, पर्वतीय माराथनजस्ता विषयको प्रबर्द्धनबाट मुलुकको पहिचान र महत्त्व बढ्छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा प्रादेशिक सरकारलाई विविध पक्षको विकास र विस्तार गर्न यथाशीघ्र कार्यभार सुम्पनु जरुरी छ । अब पनि कतिन्जेलसम्म गरिबीको भेषमा विश्वसामु गिडगिडाइरहने ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?