१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोलभेडा पाकिस्तान पठाऔं

कान्तिपुर संवाददाता

काठमाडौँ — यो विश्वव्यापीकरणको जमाना हो  । विश्वको हरेक मुलुकसँंग व्यापार गरी नाफा कमाउने समय हो  ।

गोलभेडा पाकिस्तान पठाऔं

विश्वको कुन बजारमा मूल्य बढी छ, त्यहीं सामान पठाउनसके मात्र हामीले फाइदा लिन सक्छौं । नेपालका किसानलाई त्यस्तै एउटा अवसर आएको छ । भारत र पाकिस्तानको चरम द्वन्द्वको कारण त्यो अवसर आएको हो । त्यसबाट नेपालका किसानहरूले फाइदा लिन सक्नुपर्छ । केही साताअघि भारतको काश्मिरको पुलवाहा क्षेत्रमा आतंककारीहरूले ४४ जना भारतीय सुरक्षाकर्मीको ज्यान जानेगरी हमला गरेका थिए । त्यो घटना पाकिस्तानले गराएको भनी भारतले आरोप लगाउँदै आएको छ ।


विगत केही दिनदेखि भारत र पाकिस्तानका सञ्चार माध्यममा यही विषयमा आरोप–प्रत्यारोप चलिरहेको छ । संयुक्त राष्ट्र सघंका महासचिवले दुबै देशलाई संयम अपनाउन आग्रह गर्दै आवश्यक परे आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् । भारत सरकारले पाकिस्तानलाई पाठ सिकाउन भनी पाकिस्तानबाट भारत आउने धेरै सामानको भन्सार मूल्य २०० प्रतिशतले वृद्धि गरिदिएको छ भने गोलभेडा, प्याज लगायतका वस्तु जुन भारतबाट पाकिस्तान जाने गर्थ्यो, त्यसको निर्यात अकस्मात रोकिदिएको छ । यसले गर्दा अहिले पाकिस्तानमा गोलभेडाको मूल्य प्रतिकेजी १५० र प्याजको मूल्य १०० पुगेको छ । तर नेपालमा अहिले गोलभेडाको मूल्य गाउँघरमा १० रुपैयाँ र काठमाडौंको खुद्रा बजारमा ३० रुपैयाँ हाराहारी छ ।


किन यही मौकामा नेपालको गोलभेडा पाकिस्तान निर्यात गरी नेपाली किसानले फाइदा नलिने ? तर किसान एक्लैको प्रयत्नबाट यो सम्भव छैन । त्यसका लागि नेपाल सरकार र कृषि मन्त्रालयले नै पहल गरिदिनुपर्छ । भारत र पाकिस्तानको अहिलेको द्वन्द्व लामो समय चल्ने देखिएको छ । भारतले पाकिस्तानतर्फ जाने ३ वटा नदीको धारसमेत बदल्न थालेको छ भने ‘सर्जिकल स्ट्राइक’ कारबाही गर्न खोजिरहेको छ । यस्तो घडीमा नेपालले असंलग्न पराराष्ट्र नीति अँगाल्दै दुवै राष्ट्रसंँग सन्तुलित व्यवहार गर्नुपर्छ । कुनै एकको पक्षमा लागि अर्कालाई चिढाउनुहुन्न । सकेसम्म सार्क क्षेत्रलाई शान्तिपूर्ण बनाउनुपर्छ । अहिले नेपाल सार्कको समेत अध्यक्ष रहेको हुँदा दुबै देशलाई मिलाउने भूमिका खेल्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा यो जिम्मेवारी आएको छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?