सामाजिक समस्या
काठमाडौँ — धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मगरटोलकी ११ वर्षीया रेश्मा (दुतिया) रसाइलीको बलात्कारपछि हत्या घटनाले यस्ता घटनाप्रति हाम्रो समाज कति सचेत छ भन्ने प्रतिबिम्बित भएको छ । बालिकाहरू सामाजिक रूपले कति सुरक्षित छन् भन्ने यस घटनाले देखाएको छ ।
आर्थिक रूपमा विपन्न बालिकाको परिवारले आफन्तकामा गईहोली भन्ने अनुमान गरेर बस्नु नै गलत देखिन्छ । समाजमा बालिकाप्रति बलात्कारका घटना बढिरहेको अवस्थामा अभिभावहरू सचेत हुनुपर्ने हो तर यस किसिमका घटनाप्रति अभिभावक त्यति सचेत भएको पाइएन । गरिबीको फाइदा समाजका बदमासहरूले उठाइरहेका छन् । बालिका बलात्कार तथा हत्याका घटना बढ्नुमा सरकारको संवेदनशीलतामा समेत प्रश्न उठेको छ । सरकारले एउटा हत्यारा समातेको हुँदैन, अर्को घटना भइसक्छ । यसको गतिलो उदाहरण निर्मला पन्तको हत्यारा पत्ता लगाउन ढिला गर्नुलाई लिन सकिन्छ । सरकारले बलात्कारी तथा हत्यारालाई कानुनी दायरामा ल्याई दण्डित गर्न ढिलाइ गरेकाले एकपछि अर्को आपराधिक घटना भइरहेका छन् ।
–गोविन्द बिक, कपन, काठमाडौं