१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ओज गुमाउँदै आन्दोलन

काठमाडौँ — ‘जे चाहिए ’नि आन्दोलन !’ शीर्षक समाचार अत्यन्तै समसामयिक लाग्यो  । वास्तवमा छयालीस सालको परिवर्तनपछि देशमा आन्दोलन निकै बलियो हतियार बन्दै आयो  ।

आफ्नो स्वार्थअनुकूल क देखि ज्ञ सम्मका माग पूरा गराउन बन्द, हडताल, अनशन, सत्याग्रह तथा सशस्त्र संघर्ष हुन थाले । आन्दोलनलाई सघाउ पुग्ने गरी दुब्ला–पातलादेखि पहलमानसम्म अघि सरे । निजी घरका न सिंहदरबारका, जुनसुकै मागका लागि दबाब दिन सबैतिर आन्दोलनकै भर पर्ने परिपाटी सुरु भयो, जसले अहिले ‘संस्कृति’ कै रूप लिइसकेको छ । जनताले कर तिरेको रकम खल्तीमा हाल्नेहरूले कालो झन्डा देखाएर आफूअनुकूल सरुवा–बढुवा खाने, कामै नगरी नेताझैं सुविधा लिने र त्यसलाई अनुभवको प्रमाणपत्र बनाई तमाम फाइदा लिने गर्न थाले । यसैले गर्दा ‘आन्दोलन’ शब्दले अचेल ओज गुमाइसकेको छ, दुनियाँका सामु लाजमर्दो चित्रित भइरहेको छ । पहिले आन्दोलनको एउटा औचित्य थियो । अहिलेको सरकार पनि कम्युनिस्ट आन्दोलनको जग र सशस्त्र आन्दोलनको आडमा स्थापित भएको हो । लगभग दुई सय पचास वर्ष पुरानो राजतन्त्रलाई आन्दोलनकै बलमा पाखा लगाइयो । गणतन्त्र र संघीयता आन्दोलनका महत्त्वपूर्ण उपलब्धि हुन् । आफ्ना अधिकार स्थापित गराउने र माग पूरा गराउन राज्यपक्षलाई गलाउने एसिडको रूपमा नेपालमा आन्दोलनले निकै बलियो जरा गाडिसकेको छ । सत्ता सम्हालेका बेला अरूले आन्दोलन नगरिदिए हुन्थ्यो भन्ने तर सत्ताबाहिर हुनासाथ त्यही आन्दोलनलाई पेट्रोल छर्केर चर्काउने र स्वार्थ पूरा गराउने गरिएको छ । मेरो छवर्षे नाति गृहकार्य गराउन थाल्दा मलाई भन्ने गर्छ, ‘म होमवर्क त गर्छु, तर तपाईंले लेखाइ राम्रो भएन, शुद्ध र राम्रो लेख भनी गाली गर्न पाउनुहुन्न, हैन भने आन्दोलन गर्छु ।’ यस्तो हुँदा म रुनु कि हाँस्नु ? नेपाली समाजमा आन्दोलन सबैका लागि घुर्की लगाउने, तर्साउने हतियार बनिसकेको दृष्टान्त हो यो ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : चैत्र ४, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?