१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अर्बौं ठग्दै मेडिकल कलेज

काठमाडौँ — चैत ४ गते कान्तिपुरमा प्रकाशित ‘लाखौं ठग्दै मेडिकल कलेज’को सट्टा ‘बीसौं अर्ब ठग्दै मेडिकल कलेज’ भएको भए बढी उचित हुने थियो  । मेडिकल कलेजहरूले लाखौं ठगेको एक विद्यार्थीबाट हो  ।

अर्बौं ठग्दै मेडिकल कलेज

सबैजसो कलेजले हरेक ब्याचमा पैसा तिरेर पढ्ने करिब ९० जनामध्ये सबैजसोबाट अवैध असुली गरेका छन् । एक पटकमा अध्ययनरत ६ ब्याचका विद्यार्थीको हिसाब गर्ने हो भने ५०० हाराहारीमा त्यसरी ठगिएका विद्यार्थी अहिले ती मेडिकल कलेजमा अध्ययनरत छन् ।


ती सबैको हिसाब गर्दा सबैभन्दा बढी ठग्ने चितवन मेडिकल कलेजले मात्रै चानचुन यस अवधिमा डेढ अर्ब (प्रतिविद्यार्थी ३० लाख, प्रतिवर्ष कुल करिब २५ करोड) ठगी गरेको आँकडा प्राप्त हुन्छ । त्यसमा पनि माथेमा प्रतिवेदन कायम भएर पछिल्लो शुल्क कायम हुनुअघि सबै मेडिकल कलेजले लिलाम बढाबढमा कमजोर विद्यार्थीलाई प्रतिव्यक्ति करोडसम्म लिएर भर्ना गर्ने गर्थे । त्यस हिसाबले गत ६ वर्षको हिसाब गर्ने हो भने पैसा तिरेर पढ्ने विद्यार्थीहरूबाट अर्बभन्दा कम ठगी गर्ने मेडिकल कलेज फेला पार्न गाह्रो छ । शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा आउने विद्यार्थीहरूमाथि हुने ठगी, स्नातकोत्तर तहका विद्यार्थीमाथि हुने ठगी तथा बीडीएस, नर्सिङ लगायत अन्य विधामा हुने ठगीको किस्सा बेग्लै छ ।


ठग्नबाट केयु अन्तर्गतका मेडिकल कलेजहरूसमेत पछि परेका छैनन् । यो वर्ष केयु पदाधिकारीहरूले सरकारले निर्धारित गरेभन्दा निकै बढी शुल्कको सूची निकालेर निजी मेडिकल कलेजको ठगीलाई वैधता दिने कामसमेत गरे । यी सबै हिसाब गर्दा डेढ दर्जन निजी मेडिकल कलेजहरूले गत ६ वर्षमा गरेको ठगी तथा आर्थिक अपराधको आकार
२० अर्बभन्दा कम छैन ।


तत्कालीन न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भनेझैं मेडिकल शिक्षा सुन तस्करीभन्दा पनि मालामाल हुने व्यवसाय भएको छ । यो अवस्थाबाट हामी विद्यार्थी र अभिभावक पीडित छौं । प्रकारान्तरले मेडिकल विद्यार्थीमाथि थोपरिएको त्यो भार भविष्यमा उपचार लिने आम नागरिकमाथि नै थोपरिने हो । यसले देशमा कालो अर्थतन्त्रलाई बढाएको छ । साथै समाचारमा ‘आँखा चिम्लिँंदै त्रिवि’ भनिएकोमा यथार्थ त्यसभन्दा फरक छ । यस विषयमा त्रिविले आँखा चिम्लेको छैन, खुला आँखाले यो अवस्था कायम राखेर त्रिवि पदाधिकारीले यो अवस्थाको नाजायज फाइदा उठाइरहेका छन् । एक हिसाबले अहिले देशमा त्रिवि र केयु पदाधिकारीहरू तथा निजी मेडिकल कलेजका मालिकहरूको संगठित गिरोहले भीमकाय ठगी धन्दा चलाइरहेको छ । दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने र चौतर्फी दण्डहीनता सिर्जना गर्ने राजनीतिक नेतृत्वले त्यसको संरक्षण गरिरहेको छ ।


केही वर्षअघि त्रिवि कार्यकारी परिषदले शुल्क र सिट सम्बन्धी निर्णय गर्ने अधिकार आईओएमको विद्या परिषदबाट खोसेर लिएको थियो । यस्तो ब्रह्मलुट बन्द गर्ने हो भने पहिले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेर बर्खास्तगीको सिफारिस गरेका त्रिवि पदाधिकारीलाई बर्खास्त गरी कारबाही गर्नुपर्छ । सरकारले तोकेकोभन्दा बढी शुल्क निर्धारित गर्ने केयु पदाधिकारीलाई बर्खास्त गरेर दुवै संस्थामा योग्य र इमानदारहरूलाई नियुक्त गर्नुपर्छ । ठगी गर्ने प्रत्येक मेडिकल कलेजका मालिकलाई फौजदारी मुद्दा लगाई विद्यार्थीहरूसित अनुचित रूपमा लिइएको अतिरिक्त शुल्क ब्याजसहित फिर्ता गर्नुपर्छ । एकपल्ट आँट गरेर त्यति गर्नसके यो समस्या सदाका लागि समाधान हुनेछ ।
– विशद दाहाल, काठमाडौं

प्रकाशित : चैत्र ६, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?