आदित्यपथमा हेलिएको आदर्श

काठमाडौँ — हिजोआज पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै कमजोर भएका छन्  । कुनै समय आफ्नो नाम, काम, आदर्श र सिद्धान्तका कारण शिखरमा रहेका प्रचण्ड अहिले आफ्नो साथी, सिद्धान्त, पार्टी, आदर्शलाई तिलाञ्जली दिँदै अन्य पार्टी र पथसँग विलय हुँदै छन्  ।

त्यसैको पछिल्लो उदाहरण हो– गुगल ब्वाईले बनाएको आदित्य ज्योतिपथमा आफ्नो प्रचण्डपथ विलय गराउनु । प्रचण्डपथले कुनै चमत्कार गर्न नसकेपछि त्यो पथ नै परित्याग गरी चमत्कार हुने आसमा आदित्यपथमा जानु प्रचण्डको रहर होइन, बाध्यता हो । गत साता प्रचण्ड, ओली र देउवा तीनै जना आदित्यपथको अनुग्रहण गर्न बालक आदित्यको चरणकमल छुन गौरीघाट पुगेका थिए ।

ज्योतिषीमा विश्वास गर्ने, बालुवाटार प्रवेश गर्दा कालो बोको चढाउने शेरबहादुर देउवा आदित्यकहाँ जानु कुनै अनौठो कुरा होइन तर कुनै समय धर्मलाई अफिम मान्ने प्रचण्ड, ओलीजस्ता कमनिस्ट हौं भन्नेहरू नै धर्मका आडमा उचाइमा पुर्‍याइएका बालक आदित्यको गोडा ढोग्न पुग्छन् भने त्यो जस्तो विडम्बना अरू के होला ? ओली–प्रचण्डको सोच नै गलत छ । यो पथभ्रष्ट चाल हो । माओवादीलाई एमालेमा अनि प्रचण्डपथलाई आदित्यपथमा विलय गराउनु प्रचण्डको ठूलो असफलता हो । प्रचण्डको यस्तै चालले न आज माओवादी पार्टी छ न उनका समकक्षी नेताहरू नै उनीसँग छन् । प्रचण्डपथका सर्जक मोहन किरण वैद्य आज प्रचण्डसँग छैनन् । बाबुराम भट्टराई, सीपी गजुरेल, गोपाल किराती, नेक्रवित्रम चन्दहरू पनि उनलाई छाडेर गइसके । अब आफ्ना चमत्कारका दिनहरू सकिएको महसुस गरी चमत्कार गर्ने एक अबोध बालकको पछि लागेका छन् ।

प्रचण्ड, ओलीहरूले आफूलाई वैतरणी पार गराउने जिम्मा एक बालकको काँधमा छोड्नु नै उनीहरूको राजनीतिक अवसान हो । पढ्नेलेख्ने उमेरका एक अबोध बालकलाई चामत्कारिक बालक बनाएर धर्मको व्यापार गर्न उपेन्द्र महतोहरूलाई सुहाए पनि प्रचण्ड, ओलीहरूलाई पटक्कै सुहाउँदैन ।
–गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : वैशाख ८, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?