बेवास्तामा नौबिसेको बाटो

नौबिसे–कलंकी जम्मा २५ किमि छ  । यति बाटो यात्रा गर्न लाग्ने समय भने अनिश्चित छ  ।

सार्वजनिक बसबाट यात्रा गर्दा सामान्यतया १ घन्टा लाग्नुपर्थ्यो । ट्राफिक जामले गर्दा घन्टौं लाग्छ । यो बाटोको नियमित नियति यही हो । लामो दूरीका गाडीहरू समयमा नौबिसे पुगे पनि कलंकी पुग्ने कतिखेर हो, टुंगो हुँदैन । यो जामले हैरानी नबनाएका नेपाली कमै होलान् । एम्बुलेन्सलाई समेत यो बाटोले सास्ती दिएको छ । यो समस्या आजको मात्र होइन, दस वर्षदेखिकै हो ।

जाम हटाउन कलंकीमा अन्डरग्राउन्ड पास सञ्चालनमा आए पनि समस्या उस्तै छ । कलंकी– नागढुंगा बाटो फराकिलो बनाउने कार्य कछुवाको गतिमा छ । सरकार धेरै परिवर्तन भए, सरोकारवाला निकायका धेरै प्रमुख फेरिए । यो बाटो कहिल्यै कसैको प्राथमिकतामा परेन । बाटोमा उभिएका ट्राफिकलाई सोध्दा जामको कारण गाडी संख्या बढी भएर भन्छन् । कारण यही मात्र हो त ? जामकै कारण हवाई यात्रा गर्नेको संख्या बढेको छ । के जाम हवाई यात्रु बढाउनलाई त होइन ? यो जाम सरकारी निकायले समाधान गर्न नसक्ने अवस्थामा छ त ? मैले देखेभोगेका जामका कारण निम्न छन् :

१. गाडी बाटोमा मनपरी ढंगले रोकिनु ।
२. मालबाहक ट्रक बिग्रेपछि बाटोमै छोड्नु,
३. ट्रक आफूखुसी बाटोमा रोकिनु,
४. सडक जीर्ण हुनु,
५. टिपरहरूको मनोमानी,
६. नागढुंगामा हुने ट्राफिक जाँच,

समाधानका उपाय जसरी बिहान उठेर हामी सबैले हातमुख धोएर दैनिकी सुरु गर्छौं, त्यसरी सरोकारवालाले जाम हटाएर कार्यालय सुरु गर्ने बानी हुनुपर्छ । जाम हटाउन निम्न कुरा सहयोगी हुन् सक्छन् :

१. गाडीलाई जथाभावी पार्किङ गर्न नदिने, रोक्नुपर्दा सडकभन्दा बाहिर लैजाने,
२. सडक जीर्णोदार छिटो सक्ने,
३. सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाउने,
४ जथाभावी रोकेका गाडीलाई कडा कारबाही गर्ने,
५. बिग्रेका गाडी सडकबाट तुरुन्त हटाउने,
६. मालबाहक गाडीलाई यात्रु गाडीको चाप कम भएको बेलामा पास गर्ने व्यवस्था गर्ने,
७. लोकल गाडीलाई निश्चित ठाउँमा मात्र रोक्न दिने,
८. नागढुंगा चेकलाई छिटोछरितो बनाउने ।
– मान केसी, काठमाडौं

प्रकाशित : वैशाख ३०, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?