पाङ पर्वतमा

कान्तिपुर संवाददाता

गत शनिबार कोशेलीमा प्रकाशित सौरभको ‘पारियात्र र महामेरु’ लेखमा पार्वती म्याग्दीको पाङमा जन्मिएको उल्लेख छ  । पाङ म्यादी होइन, पर्वत जिल्लामा पर्छ  ।

हिजो बाइसे, चौबिसे राज्य हुँदा पनि पर्वतमै थियोे र अहिले पनि । उनी जन्मिएको ठाउँको थप पुष्टि त्यही दिनको कान्तिपुरको गण्डकी प्रदेश संस्करणको पृष्ठ ५ को ‘गुप्तेश्वर धार्मिक गन्तव्य’ लेखले गर्छ । अतः पार्वती पर्वतको पाङमा जन्मिएको विश्वास गरिन्छ । उनी जन्मिएको ठाउँमा अहिले पनि गुफा छ । त्यस गुफालाई पार्वती गुफा भनिन्छ ।
– गौरव पौडेल, काठमाडौं

प्रकाशित : जेष्ठ १, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

हराउँदै धुलेल भाषा

वसन्तप्रताप सिंह

धुली, बझाङ — बझाङको साइपाल गाउँपालिका ४ धुलीका मातविर रोकायाले धुलेल भाषामा भने, ‘इङगाबातकुणी बाल्सीगाई सुनकेङ, दिबचौचामीगुइर्‍यागंङ ?’ यसको अर्थ हुन्छ : ‘हाम्रो भाषा लोप हुन थाल्यो । कसले बचाई देला ? ।’

हुन पनि धुलीमा मात्र बोलिने यो भाषा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो समय नेपाली भाषाको प्रभाव विस्तार हुँदै गर्दा यो भाषा बोल्न नजान्नेको संख्या धुलीमा बढ्दै गएकोमा यहाँका अगुवाले चिन्ता गर्न थालेका छन् ।

‘०५५/०५६ सम्म यहाँ नेपाली बोल्न नजान्नेको संख्या धेरै थियो । धेरैजसो महिला नेपाली बुझ्दै बुझ्दैनथे’ मातविरले भने, ‘अहिलेका केटाकेटी बरु अंग्रेजी बोल्ने भएका छन् तर आफ्नै भाषा बोल्न जान्दैनन् ।’

यो भाषा साइपाल गाउँपालिकाको ४ र ५ मा रहेका रोकाया, कामिर बोहरा जातिले बोल्ने गरेका छन् । ज्याँती, जगेरा, सैनगाउँ, धुली, बलौडी, लाफडी र न्युना गाउँमा केहीबर्ष पहिला यो भाषामात्र बोलिन्थ्यो । तर पछिल्लो समयमा आफ्नै भाषा बोल्न नजान्नेको संख्या बढ्दै गएको छ ।


‘अचेलका केटाकेटी सानैमा बाहिर पढ्न जान्छन् । उतैको भाषा सिकेर आउँछन् । हामीले हाम्रो भाषामा कुरा गरे पनि उनीहरू नेपाली नै बोल्छन् । धुलेल बोल्न जान्दैनन्,’ जगेराकी मिना रोकायाले भनिन्, ‘यसै गरी नयाँ पुस्ताले बिर्संदै गयो भने भाषा नै हराउन बेर लाग्दैन ।’ गाउँ बाहिर पढन गएका कतिपय स्कुलेहरू धुलेल भाषालाई हेलाँको दृष्टिले हेर्ने गरेको र बोल्न लजाउने गरेको उनले बताइन् ।


राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनअनुसार यो भाषा बोल्नेको जनसंख्या ३ सय ४७ छ । यहाँका २ वटा वडामा रहेका ७ वटा गाउँका करिब २ सय परिवारले यो भाषा बोल्ने गरेको र यसको जनसंख्या ७ सय ५० को हाराहारीमा रहेको साइपाल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयसिं रोकायाले बताए । उनले भौगोलिक रुपमा विकट रहेकोले जनगणनाको बेला तथ्यांक संकलन गर्ने मान्छे धुलीमा नआई तत्कालिन काँडा गाविसको कार्यालय रहेको ठाउँबाट फारम भरेकोले यसको एकिन तथ्यांक आउननसकेको बताए ।


‘त्यति बेला पनि ५ सयभन्दा बढीले यो भाषा बोल्ने गरेका थिए । जनगणनाको डाटा धुली नआएर संकलन गरिएको हुनाले फरक परेको हो’ अरु भाषाको प्रभाव विस्तार हुँदै जाँदा यो भाषा बोल्नेहरू दिनप्रतिदिन घट्दै गएको बताउँदै उनले भने, ‘आजकालका केटाकेटी बरु अग्रेजी फर्रर बोल्छन् । धुलेल भाषा बोल्न अन्कनाउछन्’ उनले केही समय पहिला सम्मप्रचलनमा रहेका धुलेल भाषाका गीतहरू हिजोआज हराइसकेको बताए ।


विष्णुझक्त शास्त्रीले स्नातकोत्तर अध्ययनका त्रममा ०४६ सालमा धुलेल भाषामाथि सोधपत्र तयार गरेका थिए । उनले बझाङको इतिहास तथा संस्कृतिका अध्ययनका साथै यो भाषा भोट भारोपेली भाषा परिवारभित्र पर्ने वर पश्चिमा भाषिकाको एउटा हाँगो भएको उनले बताए । दाचुर्लाका व्याँसी जातीले बोल्ने भाषा र तिब्बती भाषाको प्रभाव परे जस्तो देखिएपनि धुलेल भाषा यी दुबैभन्दा पुर्णरुपमा भिन्न रहेको उनको भनाई छ ।


‘यो कुनै पनि भाषासँग मिल्दैन । नेपालको अरु ठाउँमा यो भाषाबोल्ने मानिसहरू पनि छैनन्’ उनले भने ‘निकै सानो क्षेत्रमा कम जनसंख्याले बोल्ने भएका कारण यो भाषाको प्रचारप्रसार भएको छैन ।’

उनले धुलेल भाषा लोपोन्मूखभएको बताउँदै यसको संरक्षण गर्नका लागि विद्यालय स्तरमा नै पाठ्क्रम विकास गरिनु पर्ने बताए ।


गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले धुलेल भाषाको उन्नयनका लागि गाउँपालिकाले भाषा आयोग र त्रिभुवन विश्वविद्यालयसँग छलफल गरिरहेको बताए । ‘अल्पसंख्यक मानिसहरूले बोल्ने यस भाषाको संरक्षण योजना बनाइरहेका छौ’ उनले भने ‘भाषा आयोग र त्रिभुवन विश्वविद्यालयका विज्ञहरूको सल्लाहमा कार्यक्रमहरू संचालन गर्ने सोचाई छ ।’ उनले धुलेल भाषा लोपउन्मुख भएपनि यो गाउँपालिकाका मात्र नभएर राष्ट्र कै सम्पति भएकाले संरक्षणमा कुनै कमजोरी नहुने बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्