किनेको गोल्ड मेडल

कान्तिपुर संवाददाता

जबसम्म त्रिविलाई राजनीतिबाट मुक्त गरी नैतिक रूपमा स्वच्छ राख्न सकिँदैन, तबसम्म आम जनमानसमा त्रिविप्रतिको विश्वास घट्नेछ  । यसबारे समयमै सोच्नुहुन सम्बन्धित पक्षसँग अपिल गर्छु  ।

त्रिवि सेवा आयोगका पदाधिकारीहरूले आफ्ना आफन्त र निकटकालाई जागिर खुवाउन योग्य उम्मेदवारको अङ्क घटाएर अयोग्यको बढाउने जुन कार्य गरे, खेदपूर्ण छ । जेहेनदार र मिहेनती विद्यार्थीलाई दीक्षित गरिने ‘गोल्ड मेडल’ पनि केही रकममा बिक्री हुन थालेछ । बेलाबखत समाचारमा आइरहने दुर्व्यहारका घटनाले पनि प्राध्यापकहरूको नैतिक आचरण कमजोर भएको संकेत गरेको छ । आंगिक क्याम्पसहरू पनि पानीमुनिको ओबानो छैनन् ।
– आदर्श वाग्ले, त्रिचन्द्र कलेज, काठमाडौं
...
त्रिभुवन विश्वविद्यालयमा २०६२/६३ को जनआन्दोलनपछि महत्त्वपूर्ण पदमा राजनीतिक भागबन्डा सुरु भएको हो । योग्यलाई कुल्चेर आफ्नो गुलामी गर्ने र पैसा खुवाउनेलाई नियुक्त गर्ने निकृष्ठ खेल सुरु भएपछि त्रिवि राजनीतिक हुंकार मच्चाउनेहरूको खेलमैदान बन्न पुग्यो । अहिले त्रिविमा शकुनीको जुवाझैं तुरूप हान्ने शिक्षितहरूको विगविगी छ । त्रिवि सेवा आयोगका अध्यक्ष, सदस्य, प्रशासन प्रमुख, प्राध्यापकजस्ता मूर्धन्य व्यक्तिहरूले नै विद्यार्थीको प्राप्तांक जोड–घटाउ गर्न थालेपछि कसको विश्वास गर्ने ? यो काण्डपछि मुलुकभरका जेहेनदार र मिहेनती विद्यार्थी झस्कन थालेका छन् । विश्वविद्यालय पैसाको भरमा प्रमाणपत्र दिने कारखाना भएपछि मिहेनत गरेर किन पढ्ने ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
....
त्रिविका इन्जिनियरिङ, चिकित्साशास्त्र, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट उत्पादित जनशक्ति एसियाकै उच्च श्रेणीमा मापन गरिन्छ । विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्ति विदेश पलायन हुनु चिन्ताको विषय हो । विश्वविद्यालयहरू सेवा, अनुसन्धान र शैक्षिक गुणस्तरीय तथा उत्पादनशील शैक्षिक केन्द्रका रूपमा विकसित हुनुपर्छ ।
विश्वविद्यालयको साख उच्च बनाउन पदाधिकारीहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । पदाधिकारी नियुक्तिको सिफारिस गर्ने ‘सर्च कमिटि’ ले अन्तर्राष्ट्रिय मापदण्ड तथा राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी उपयुक्त व्यक्तिहरूको खोजी गर्ने बेला आएको छ । पदाधिकारी हुन इच्छुकहरूका योग्यता, कार्यक्षमता र अनुभवका साथै उनीहरूले प्रस्तुत गर्ने कार्ययोजनालाई आधार मानी नियुक्ति गर्ने परिपाटी बसाल्न सक्यौं भने विकृति तथा विसंगति कम हुँदै जानेछन् ।
– जीवनप्रकाश शर्मा, सहप्राध्यापक, त्रिवि, कीर्तिपुर

प्रकाशित : असार २७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

घाम जाला बरु, जाम खुल्दैन

कान्तिपुर संवाददाता

दैनिक कार्यालय आउ–जाउ गर्दा अरनिको राजमार्गको कोटेश्वर र जडिबुटीमा घन्टौं जाममा पर्नु नियति नै बनेको छ–भक्तपुरबासीका लागि  । मनोहरा पुल अगाडिको जामले छिचोल्दा कहिले त कार्यालय नगई घरै फर्किए ’नि हुन्छ  ।

छोटो समयमा सजिलै छिचोल्न सकिने लोकन्थली–मनोहरा पुलको यो सडक केही दिनयता एकतर्फी बनाएर भक्तपुर तर्फबाट आउने सवारीहरूलाई अरनिको राजमार्गको मूल जामको भंँगालोमै झोँसिदिने काम गरिएको छ । जामले गर्दा बिहान कार्यालय समयमा १/२ घन्टा केही सास्ती खेप्नुपरेका केही व्यवसायी (पेट्रोल पम्प, मोटर वर्कसप र हार्डवेयर पसल) को सहुलियतका लागि हजारौं जनताले प्रयोग गर्दै आइरहेको यो सडक बन्द गर्ने ट्राफिक व्यवस्थापनको अप्रिय निर्णयले जाम सुल्झाउनुभन्दा झन् सास्ती थप्ने काम गरेको छ । लोकन्थली–मनोहरा पुल खण्डमा मात्र एकतर्फी व्यवस्था लागू गर्ने आवश्यकता किन पर्‍यो ? केही व्यापारीको व्यापार वृद्धिका लागि यसो गर्नु दुःखद हो ।
– प्रफुल्ल शर्मा, भक्तपुर

प्रकाशित : असार २७, २०७६ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्