डुबानमा उत्रनुपर्ने चेत
यो वर्ष पनि भारतकै कारण नेपालको तराई मधेसका जिल्लाहरू डुबानमा पर्नुले भारतीय हेपाहा प्रवृत्ति र हाम्रो कूटनीतिक असक्षमता एकसाथ उजागर गरेको छ ।
भारतले आफ्नो भूभाग डुबानबाट बचाउन सीमावर्ती क्षेत्रमा मनलाग्दी रूपमा तटबन्ध बनाउँदा नेपाली भूभाग डुबानमा परेका हुन् । यो अमानवीय मात्र होइन, अन्तर्राष्ट्रिय सन्धि विपरीत पनि छ । अन्तर्राष्ट्रिय सन्धि अनुसार कुनै देशले छिमेकी देशलाई मर्का पर्नेगरी सीमा क्षेत्रको निश्चित दूरीसम्म कुनै पनि निर्माण गर्न, बाँध बाँध्न वा तटबन्ध बनाउन पाउने छैन । भारतको हेपाहा प्रवृत्तिका कारण आज लाखौं नेपाली डुबानको समस्या भोग्न बाध्य छन् । भारतको बाँधकै कारण गौर बजार पुरै डुबेको छ ।
सप्तरीको हनुमान नगर र वरपरका हजारौं घर डुबानमा परेका छन् । बाँके, बारा, पर्सा पनि डुबानको चपेटामा परेका छन् । भारत भने देखे–नदेखेझैं गरिरहेको छ । भारतले नेपाललाई नजिकको मित्र भने पनि सधैं यस्तै दुःख दिने काम गर्छ । कहिले सिमानामा बाँध बाँधेर कहिले नेपालको कृषिजन्य सामान निकासी हुनलाग्दा समेत क्वारेन्टिन र विषादी परीक्षण गर्ने भन्दै महिनौं अल्मलाएर । २०७२ को नाकाबन्दी त मित्रताको नाममा कलंक नै भैहाल्यो । अहिले भारतले नेपालको सिमानामा टाँसिनेगरी पूर्व–पश्चिम बाटो र बाँध बनाइरहेको छ । तराई मधेस यसरी डुबानमा पर्दा सरकारले भारतसँग दह्रो कुरा गर्नुपर्छ । मधेसवादी दलहरूले पनि मधेसको हितका लागि आवाज उठाउनैपर्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर– ८, काठमाडौं
भारतीय बाँधले नेपाली बस्ती डुबानमा परेको विषय गम्भीर छ । यसलाई लिएर भारतीय पक्षले यतिविघ्न मौनता किन साँधेको छ ? बुझ्न सकिन्न । सप्तकोशी बाँधका साँचो आफ्नो हातमा खिचेर नेपालका तटीय क्षेत्रमा पुर्याएको क्षतिले ‘रोटीबेटीका रिस्तालाई धज्जी उडाएको छ । कदम–कदममा भारतीय पक्षको हेपाहा प्रवृत्ति कोशी, गण्डक र टनकपुरका ड्यामजस्तै फराकिला र गहिरा छन् । कसले तौलने अत्याचारको यो परिमाणलाई ? कोशी बाँध पूर्व र मध्य तराईमा वर्षेनि पाहुना बनेर प्रवेश गर्छ र शत्रु बनेर बिल्लीबाठ बनाउँछ । यो जनधनको नाश लेखाजोखा गर्न भारतीय पक्ष किञ्चित चाहँदैन । मित्रवत तवरले कूटनीतिक शैलीमा नेपालसँग व्यवहार गर्नुभन्दा पाइतालामा थिच्ने/दबाउने गरेको दुनियाँ छ ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं