सार्वजनिक अभिलेखका लागि नयाँ मन्त्रीका विशेषता

कान्तिपुर संवाददाता

नवयिनुक्त पर्यटनमन्त्री योगेश भट्टराईबारे मिडियामा समाचार सम्प्रेषण हुँदा निम्न कुरा नियमित रूपमा छुटाइने गरेको हुँदा सार्वजनिक अभिलेखका लागि प्रस्तुत गर्न चाहन्छौं

- हाम्रो सत्याग्रह अभियान चलिरहँदा सरकारको निरंकुश चरित्रको प्रकटीकरण भट्टराईका रूपमा भएको थियो । जबकि हामी कुनै सरकार वा पार्टी विशेषका विरुद्ध लडेको नभई देशको स्वास्थ्यसेवा र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न तथा समाजमा सुशासन र जवाफदेहिता कायम गर्न निरन्तर संघर्षरत छौं । सबै पार्टीका सरकारसँग हाम्रा माग उही छन् : योग्य विद्यार्थीले निःशुल्क वा न्युनतम शुल्कमा चिकित्सा वा स्वास्थ्य शिक्षा पढ्न पाउनुपर्‍यो । सरकारले अधिकतम सार्वजनिक स्वास्थ्य संस्था पुर्‍याएर दुर्गममा बस्ने विपन्नका लागिसमेत गुणस्तरीय स्वास्थ्यसेवा पुर्‍याओस् ।
- दुर्गमका जनताको सेवा गर्ने वाचासहित चुनाव जितेर जनताका लागि नभई सीमित मेडिकल माफियाको स्वार्थ अनुसार कानुन नै तोडमोड गर्ने प्रक्रियामा संसद र सरकार दुवै लागे । संसदीय समितिबाट त्यस्तो तोडमोड गर्न र निरन्तर त्यसको बचाउ गर्न भट्टराईको मुख्य योगदान थियो ।
- दुर्गमका जनताले पाउने सेवाको गुणस्तर बढोस् भनी प्रमाणपत्र तह मुनिका कार्यक्रम ‘फेजआउट’ गर्न माथेमा कार्यदलले सिफारिस गरेकोमा भट्टराईले त्यसविरुद्ध भ्रम फैलाएका थिए ।
- पार्टी सम्बद्ध माफियाको अमूक मेडिकल कलेजका लागि प्रस्तावित चिकित्सा शिक्षा आयोगको भूमिका नै खुम्च्याउने हदसम्मको लज्जास्पद काम संसदबाट गरेपछि लोकलाजकै कारण नेकपाकै धेरै नेताले त्यसको बचाउ गरेका थिएनन् । तर लाज पचाएर त्यसको बचाउ गर्ने मुख्य व्यक्ति भट्टराई थिए ।
- सत्याग्रहको नैतिक बलसित जुध्न नसकेपछि आपराधिक पृष्ठभूमिको नक्कली अनशनकारी सिर्जनामा उनको मुख्य भूमिका थियो । नक्कली अनशनकारीको हवाई यात्रादेखि आईओएमका पदाधिकारीलाई धम्क्याएर शिक्षण अस्पतालमै ‘काउन्टर–अनशन’ गराउनमा उनी प्रत्यक्ष संलग्न थिए ।
-युवा नेता भनिए पनि नेपाली राजनीतिमा संस्थागत तमाम जालझेल र अनैतिक व्यवहार वृद्ध पुस्तामा जति नै भट्टराईमा पनि भेटिन्छ ।
राजनीतिको अर्थ जतिसुकै अनैतिक हथकण्डा अपनाएर भए पनि आफू पदमा पुग्ने, परिवारका सदस्यलाई पदमा पुर्‍याउने, सार्वजनिक संस्थाहरूको दोहन गरेर करोडौं नागरिकको दुःखको मूल्यमा आफू र परिवारलाई धनी बनाउने हो भन्ने मान्यता उनको नियुक्तिले पुनःस्थापित गर्छ । त्यसो हैन र राजनीति भनेको आम नागरिकको सेवा हो भने राजनीतिज्ञहरू इमान तथा सर्वसाधारणको सेवा गरेको आधारमा पुरस्कृत हुनुपर्छ र पदमा पुर्‍याइनुपर्छ । तब मात्र समाजमा न्याय र सुशासन स्थापित हुनसक्छ । त्यसका लागि हाम्रो संघर्ष जारी छ ।

– डा. गोविन्द केसी, त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं

प्रकाशित : श्रावण २१, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?