अकाल मृत्युको नियति
साउन २५ गते प्रकाशित ‘रातभर एउटै चालक’ समाचारले दुःखी तुल्यायो । किनभने बिहीबार साँझ ४०/४२ जना यात्री बोकेर सर्लाहीदेखि काठमाडौंसम्मको लामो दूरीमा कहिले सवारी धनी, कहिले सहचालक र अन्त्यमा इन्धन भरेपछि भने चालकले नै तीव्र गतिमा हुइँकाएको यात्रीवाहक बस शुक्रबार बिहान ३.३० बजे धादिङ, सलाङ्घाटमा आएपछि त्रिशूली नदीमा खस्यो ।
यात्रीहरूमध्ये कोही बस पल्टिँदा उछिट्टिए, कोही बुट्यानमा अड्किए, कोही नदीमा बगे, कतिजनाको मृत्यु भई लास फेला पर्यो भने अझै कतिजना बेपत्ता नै छन् । घाइतेहरू धादिङ र काठमाडौंमा उपचाररत छन् । सर्लाही, हरिवनसम्म सवारी धनी र त्यसपछि चालकले हाँकेको, फराकिलो र सजिलो सडकमा पनि दुर्घटना हुनुमा चालकको थकान, निद्रा र एक्लैले लामो यात्रा अर्थात २५० किमिभन्दा बढी दूरी तय गर्नुपर्ने, थोत्रा सवारी साधन, क्षमताभन्दा बढी बोझ, तीव्र गतिमा पनि ट्राफिक प्रहरीले अनुगमन नगर्नु नै दुर्घटनाको प्रमुख कारण मान्न सकिन्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची