विद्युतीय सवारी साधन

विद्युतीय सवारी साधनबारे संसारभर नै बहस चलिरहेको छ  । डिजेल–पेट्रोलबाट उब्जिने धुवाँले पूरै विश्वलाई दूषित बनाइरहेको छ  ।

जलवायु परिवर्तनको एउटा कारक पेट्रोलियम पदार्थ पनि भएकाले कैयौं राष्ट्रले आउने दिनमा छिट्टै डिजेल–पेट्रोलका गाडीलाई पूर्णरूपले विस्थापित गर्दै विद्युतीय सवारी साधन चलाउने कार्ययोजना बनाइसकेका छन् । अहिले सानामात्रै होइन, तारबेगर चल्ने ठूला विद्युतीय बस नै कताकति सञ्चालनमा आइसकेका छन् । तर हाम्रो सरकार यसबारे सोचेजति जागरुक हुनसके जस्तो लाग्दैन । विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेसन लगायतका पूर्वाधारको निर्माण र यसको दिगो सञ्चालनमा सरकारी भूमिका कस्तो हुने भन्ने निश्चित हुनसकेको छैन । डिजेल–पेट्रोल हाम्रा उत्पादन नभएकाले यिनको आयातमा वर्षेनि अर्बौं रकम बाहिरिने गरेको छ, जुन व्यापार घाटाको प्रमुख कारक पनि हो । विद्युतीय सवारी साधनलाई आक्रामक किसिमले प्रबर्द्धन गर्नसके त्यस्तो रकम बगाउने बाध्यता घट्दै जान्थ्यो । यसका लागि सरकारले विद्युत उत्पादनलाई पनि अति प्राथमिकता दिनुपर्छ । भोलिका दिनमा देशैभरि सबै किसिमका सवारी साधन विद्युतबाटै सञ्चालन गर्नसके देशको आर्थिक अवस्था पक्कै पनि सबल हुँदै जान्छ ।
– रामकृष्ण बराल, जोरपाटी– २, काठमाडौं

प्रकाशित : भाद्र २, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?