कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ल्होसारमा लमजुङ [फोटो फिचर]

गुरुङ समुदायको ल्होसार मनाइँदै
आश गुरुङ

लमजुङ — आज पुस १५ । तमू अर्थात गुरुङ समुदायको महान पर्व तमू ल्होसार । ल्होसार र ल्होछार जे भनिएपनि यसपर्वलाई गुरुङ समुदायले बर्ग फेरिएको दिनको रुपमा लिन्छन् ।

केहीबर्ष अघिसम्म पुस १५ को दिनमात्रै चहलपहल देखिने गाउँसमाजमा केही बर्षयता ल्होसारको अघिपछिका दिनमा पनि चहलपहल देखिएको छ ।

ल्होसारमा लमजुङ [फोटो फिचर]

आज पुस १५ । तमू अर्थात गुरुङ समुदायको महान पर्व तमू ल्होसार । ल्होसार र ल्होछार जे भनिएपनि यसपर्वलाई गुरुङ समुदायले बर्ग फेरिएको दिनको रुपमा लिन्छन् ।

केहीबर्ष अघिसम्म पुस १५ को दिनमात्रै चहलपहल देखिने गाउँसमाजमा केही बर्षयता ल्होसारको अघिपछिका दिनमा पनि चहलपहल देखिएको छ । लमजुङका गुरुङ समुदायले सदरमुकाम बेंसीसहरमा बिहीबार झाँकीसहितको र्‍याली निकालेर ल्होसारको भब्य स्वागत गरे । तमू प्ये ल्हु संघ र तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईको संयुक्त आयोजनामा टोलटोलबाट आमा तथा बाबा समूह, युवायुवतीले तमू संग्रहालयको प्रांगणसम्म र्‍याली निकालेका थिए । र्‍यालीमा गुरुङ पुरोहित घ्याब्रेपच्यु, बोन्पोलम, लामा लगायतले झाँकी प्रस्तुत गरेका थिए । तमू संग्रहालयमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सांसद जमीन्द्रमान घलेले तीर (आर्चरी) हाने । ‘चाडपर्वले एकअर्कामा जातीय सद्भाव बढाएको छ ।

लोकतन्त्रको सुन्दर पक्ष नै यही हो’ उनले भने, ‘संविधानमा आदिवासी जनजातिका हक र अधिकार समेटिएकाले अब अधिकारलाई कसरी प्राप्त गर्न सकिन्छ भनेर अघि बढ्नुपर्छ ।’
तमू प्ये ल्हु संघका जिल्ला अध्यक्ष क्या. मिलबहादुर गुरुङका अनुसार तमू संग्रहालय बेंसीसहरमा जम्मा भएका गुरुङ समुदायका विभिन्न ब्यक्तित्वले बिहीबार राती १२ बजेसम्म जाग्राम बसेर त्यसपछि च्ह्यल्हो अर्थात चरा बर्गको स्वागत गरेका छन् । गुरुङ पुरोहित घ्याब्रेपच्युले मन्त्रपाठ गरेर प्रल्हो अर्थात बाँदर बर्गको बिदाई गरेका थिए ।

१२ बजेपछि ल्हो तोब (बर्ग फेरिएको) अवसरमा शुभकामना आदानप्रदान गरी राती खाज खाइएको थियो । तमू प्ये ल्हु युवा संघका अध्यक्ष शेष गुरुङले बिहीबार साँझ भीमसेनस्थान चोकमा मैनबत्ति बालेर ल्होसारको स्वागत गरिएको बताए । गुरुङ समुदायको १२ वटा बर्गचक्रमध्ये हरेक बर्षको पुस १५ गतेबाट अर्को बर्ग प्रारम्भ हुन्छ । गुरुङ समुदायले यही दिन नै नयाँबर्षको रुपमा लिन्छन् । ‘बर्ग फेरिएपछि हरेक मान्छे एक बर्षले जेठो हुन्छ’ गुरुङ पैंडी (पण्डित) इन्द्रबहादुर गुरुङले भने, ‘हामी कति बर्षको भयौं भनेर यही बर्ग गनेर पत्ता लगाउँछौं ।’ राम्रोनराम्रो ग्रह, विवाहवारी गर्न हुनेनहुने, घर बनाउन वा पस्न हुनेनहुने, विदेश जाने साइत सवै बर्ग हेरेर गरिने उनले बताए ।

तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईका अध्यक्ष क्या. रणबहादुर गुरुङले पछिल्लो समय गुरुङ समुदायमा जातीय जागरण आएको र आफ्नो चाडपर्व मनाउन एकजुट भएको बताए । ल्होसारको अवसरमा संग्रहालयमै आज स्यो कैं अर्थात सामुदायिक भोजको आयोजना गरिँदै छ । पछिल्लो समय बेंसीसहरका गुरुङ समुदायले ल्होसारको दिन तमू संग्रहालयमा स्यों कैं कार्यक्रम राख्दै आएको छ । टोलटोलका वासिन्दाले पुन: आ–आफ्नो समय मिलाएर टोलटोलको समाज भवनमा स्योकैं खान्छन् । स्थानीय तीर्थ गुरुङका अनुसार ल्होसारकै अवसरमा चक्रतीर्थमा सातविसे तमू समाजले ल्होसार विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

गाउँसहर चिसापानीमा पनि ल्होसार विशेष कार्यक्रमको आयोजना गरिँदैछ । गुरुङ समुदायको घनाबस्तीहरु भुजुङ, पसगाउँ, घनपोखरा, घलेगाउँ, गिलुङ, घाम्राङ, सुन्दरबजार, भोटेओडार, भोर्लेटार, इलमपोखरी, दूधपोखरी, पाचोक, कोल्की लगायत ग्रामीण तथा सहरबजारमा ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । नयाँनायाँ लुगा लगाएर आफन्तसंग भेटघाट, सामूहिक रुपमा नाचगान, छेलो हान्ने, तीर हान्ने लगायतको कार्यक्रम गरी भोज खाएर गुरुङ समुदायले ल्होसार मनाउने गर्छन् । आजकै दिन विदेशमा रहेका गुरुङ समुदायले पनि ल्होसार मनाउँछन् ।

प्रकाशित : पुस १५, २०७३ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?