गाउँभरि सुन्तलैसुन्तला [फोटो फिचर]

शव्द/तस्बिर: अगन्धर तिवारी

गतसाता पर्वतको उत्तरी बाँसखर्क-२ बजारमारे पुग्दा स्थानीय चन्द्रकुमारी भण्डारी पोखराका सुन्तला व्यवसायीसँग मोलमोलाई गर्दै थिइन् । ‘अहिले अझै भाउ बसेको छैन,’ माघको १५ पछि आउनुहोला । भाउ उहीबेला हुन्छ ।’ उनले टेलिफोनमा गरेको सम्वादको केही अंश ।

आठ रोपनी बारीमा सुन्तला लटरम्म फलाएकी भण्डारी तिनै सुन्तलाका दानासँगै पैसाको हिसाबकिताब गर्दै थिइन् । ‘पोहोर डेढ लाख परेको हो,’ उनले भनिन्, ‘यसपाली बोट र दाना बढेका छन् । तीन लाखको हाराहारीमा पर्छ होला ।’ पाँच वर्षअघि रोपेका करिब सय नयाँबोटमा पनि यो वर्षदेखि सुन्तला फल्न थालेपछि उनी घरमै बसिबसि तीन लाख आम्दानी हुनेमा ढुक्क छिन् ।



भण्डारी मात्रै होइन बाँसखर्कमा सुन्तला बेचेर लाखभन्दा बढी आम्दानी गर्ने परिवारको संख्या डेढ सयको हाराहारीमा छ । जिल्लाभर सुन्तलाका बोट रित्तिइसके । तर, यहाँका किसानले अझै एक गेडो पनि बेचेका छैनन् । ‘माघको दोस्रो सातापछि बल्ल यहाँका मुख्य सिजन हो,’ अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘उतिबेला हामीले मागेको भाउ पाइन्छ । ढिला टिप्ने गरेकोले होला, बोट पनि बानी परिसके ।’ उत्तरी मोहडामा आठ सयदेखि १६ सय मिटर उचाइको यो गाउँ सुन्तलाको जंगलले ढाकिएको छ ।

बिक्रम संवत् १९५० तिरबाट गाउँकै बूढापाकाले सुरु गरेको सुन्तला खेती अहिले स्थानीयका लागि भरपुर आम्दानीको माध्यम बनेको छ । पहिला पहिला कोदो पल्ने बारीमा मात्रै सुन्तलाको खेती लगाएका यहाँका बासिन्दाले पछिल्लो केही वर्षयता धान फल्ने खेतमा समेत सुन्तला नै रोप्न थालेका छन् । यो सिजनमा उनीहरु बोटमा लटरम्म पाकेका पहेंलपुर सुन्तलाका दानासँग पैसाको हिसाबकिताब गर्न व्यस्त छन् ।

यहाँका ५० भन्दा बढी व्यक्तिले सुन्तला बिक्रीबाटै बेनी, बाग्लुङ, कुश्मा, पोखरा, चितवन, काठमाडौं लगायतका शहरमा घरघडेरी जोडेका छन् । तर, उनीहरु बजार बस्न मान्दैनन् । ‘गाविसभर दुई सय ६१ परिवारमध्ये दुई सयले सुन्तला लगाएका छन्,’ अगुवा किसान खत्रीले भने, ‘तिमध्ये धेरैजसोका बजारमा घरघडेरी छन् । सबै गाउँमै बस्छन् । उता (बजार)मा सबै भाडामा लगाएका छन् । उनले बेनी, पोखरा र चितवनमा घडेरी जोडेका छन् । ६९ सालमा स्थापित बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका उनी अध्यक्ष हुन् ।

स्थापनाकालदेखि सहकारीले गाउँका सुन्तला बिक्रीका लागि बजार र मूल्य निर्धारण गरी पठाउने काम गर्छ । ‘यहाँको माटोमा सुन फल्छ,’ स्थानीय तेजबहादुर खत्रीले भने, ‘बजार बस्दा हरेक चिज सुन सरी किनेर खानुपर्छ । बजार बस्दा यहाँको माटोले सराप्छ ।’ एकपटक रोपेपछि ६० देखि एक सय वर्षसम्म लगातार फल दिने किसानहरु बताउँछन् । सुन्तलाको मूल्य र ढुवानीबारे किसानहरु विगत तीन वर्षयता ढुक्क छन् । ७० सालमा आफैंले चन्दा उठाएर पर्वत बेनीदेखि गाउँसम्म पुग्ने सडक खनेपछि हिजोआज व्यापारी गाडी लिएर दैलादैला पुग्छन् । ‘पहिला बेनीसम्म डोकोमा बोकेर पनि पुर्‍याइयो,’ शेरबहादुर खत्रीले भने, ‘अहिले घरघरै गाडी लिएर व्यापारी आउँछन् । उनीहरु नै बढिबढाउमा मूल्य गर्छन् ।

बिहान एउटा मूल्य भयो, बेलुका अर्को व्यापारीले २० रुपैयाँ बढी दिन्छ ।’ सहकारीले सुन्तलालाई चार ग्रेडमा विभाजन गरेर बिक्री गर्ने व्यवस्था मिलाएको छ । जेठी, माइली, साइँली र कान्छी । हिजोआज स्थानीय बजारमा थोरैथोरै परिमाणमा बिक्री हुने सुन्तलाको ७० देखि १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ । ‘पछि दिनकै आठ, दस ट्रक जान्छ,’ चन्द्रकुमारीले भनिन्, ‘अहिले आउनेलाई जेठी र कान्छीसम्म ग्रेडिङ गरेर १० रुपैयाँको अन्तरमा बिक्री गरिन्छ ।’ आफन्त र नजिकका गैरव्यवसायिक व्यक्तिलाई तोकिएको मूल्यमा केही घटाएर बिक्री गर्ने गरेको उनले बताइन् । बजारमारे सुन्तला उत्पादन सहकारीले यो वर्ष किलोको एक सय ३० सम्म पार्ने गरी व्यापारीसँग मोलमोलाई गर्दै छ ।

यहाँको सुन्तलाबाट यो वर्ष दुईदेखि साढे दुई करोड रुपैयाँ भित्र्याउने लक्ष्य रहेको किसानहरु बताउँछन् । ‘अहिले ठूलो दाना र बाक्लो फलेको छ,’ सहकारीका अध्यक्ष खत्रीले भने, ‘मूल्य पनि पोहोरको तुलनामा १० प्रतिशत बढ्ने निश्चित छ ।’ सहकारीले यो वर्ष नेपाल सरकारबाट १० लाख अनुदान समेत पाएको छ । त्यसबाट बगैंचा सुधार, सिञ्चाई पाइप र सामग्री खरिद गर्ने योजना बनाएको खत्रीले बताए ।


बाँसखर्कमा सुन्तलाको सम्भावना राम्रो भएपछि कृषि कार्यालयले पनि हरेक वर्ष लगानी र श्रम बढाएको कृषिले जनाएको छ । गएको तीन वर्षदेखि सुन्तला बगैंचा सुधार कार्यक्रम ल्याएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । बगैंचा सुधार कार्यक्रम प्रभावकारी भएपछि यो वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गरेको छ । बगैंचा सुधार न्तर्गत किसानलाई मलखाद व्यवस्थापन, रोगकिरा नियन्त्रण र फल टिप्ने प्रविधिबारे सिकाउने गरिएको छ । उत्तरी मोहोडामा फैलिएको र ८ देखि १३ सय मिटर उचाईको जमिन सुन्तलाका लागि उपयुक्त भुगोल हो ।

शव्द/तस्बिर: अगन्धर तिवारी प्रकाशित : पुस २२, २०७३ १५:०९

प्रतिक्रिया
पठाउनुहोस्