हिमपातले कतै रमाइलो, कतै सकस [फोटो फिचर]

कुम्भराज राई

जन्तरधाप (ओखलढुंगा) — एक सातादेखि लगातार जसो हिमपातका कारण लेकाली जनजीवन सकसपूर्ण भएको छ । हिमपात हुने क्षेत्र बाहिर र सदरमुकाम लगायतका स्थानीय हिमपात भएपछि हिउँ खेल्न गएर रमाइलो मानेपनि लेकाली क्षेत्रमै बस्ने स्थानीयलाई समस्या भएको हो । करिब २ फिट सम्म हिउँपरेपछि हिँड्डुल गर्न र पिउने पानी पगाल्नै गाह्रो भएको छ ।

‘एक दिन दुई दिन भएको रमाइलो हुनु । हिँड्न डुल्न, खान बस्नै गाह्रो भएपछि के को रमाइलो नी,’ जन्तरखानीका खिलबहादुर मगरले भने, ‘यसरी लगातार एक साता सम्म हिउँ नपरेको धेरै वर्ष भएको थियो । ठिक्क परेको भए त बालीलाई फाइदा नै हुने थियो । धेरै परेपछि त बाली पनि मासिने डर भो ।’

हिमपातकै कारण ओखलढुंगा–सोलुखुम्बु सडकमा चारदेखि राम्रोसँग सवारी चल्न सकेका छैनन् । हिउँले चिप्लिएपछि ठाडेदेखि पात्ले सम्मको करिब ५ किलोमिटर सडक अवरुद्ध भएको हो । लेकाली भेग पर्ने जिल्लाको उत्तरी गाविस पात्ले, रावादोलु, भुसिंगा चल्ने कच्ची सडकमा पनि सवारी चल्न सकेका छैनन् ।

हिउँमा गुड्न सक्ने किसिमको पांग्रा भएको सवारी साधन नहुँदा समेत यस भेगमा वर्षेनी स्थानीयले समस्या भोग्नुपरेको पात्लेका स्थानीय आङबाबु शेर्पाले बताए । सोलुखुम्बुको टाप्टिङ, केरुङ सँगै दुधकुण्ड नगरपालिकामा समेत हिमपात भएको छ । ओखलढुंगाको रगनी, खिजीफलाँटे, जन्तरखानी, पात्ले, रावादोलु, भुसिंगा लगायतका गाविसमा पुषको मध्यमै बाक्लो हिमपात भएको छ ।

हिमपातले चिसो बढ्दा विद्यालयहरुमा पठनपाठन हुन सकेको छैन । स्थानीयलाई घरदेखि बाहिर निस्कन समेत गाह्रो भएको छ । ओखलढुंगा–सोलुखुम्बु सडकमा यात्रुहरु पैदल हिँड्न बाध्य भएका छन्।

हिमपात भएपछि जन्तरखानीको ठाडे, केरुङको पत्ताले लगायतका स्थानमा भने आन्तरिक पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । हिउँ खेल्न गएर रमाउनेको बाक्लो उपस्थिति रहेको ठाडेका स्थानीय शिक्षक मेखबहादुर मगरले बताए ।

प्रकाशित : पुस २२, २०७३ १८:२२

प्रतिक्रिया
पठाउनुहोस्