कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माघीमा झुम्यो टुँडिखेल

कान्तिपुर संवाददाता

काठमाडौं — थारू बस्तीमा आज माघीको रौनक छाएको छ । थारू समुदायको विशेष पर्व भएकाले बिहानैदेखि थारुको बसोबास हुने स्थानहरुमा निकै उत्साह र चहलपहल बढ्छ । काठमाडौंमा बस्ने थारुहरुले भने टुँडिखेलमा जम्मा भएर माघी मनाए ।

तस्बिर : अंगद ढकाल र प्रताप थापा

टुँडिखेलमा माघी मनाउनका लागि विशेक्ष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सभामुख ओनसरी घर्ती लगायत विभिन्न पार्टीका नेताहरुको पनि सहभागिता रहेको थियो । टुँडिखेलमा थारुहरुको परिकारहरुको स्टलहरु पनि राखिएको थियो ।

थारु समुदायमा नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै नुहाइधुवाई गरी सेतो चामलको टीका लगाउने चलन छ । घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्याएर दिने गर्छन् ।

माघीमा थारू समुदायले ढिकरीलगायतका परिकार र सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् । पर्वका दिन बिहानै उठेर नुहाइधुवाई गरी शिवजीको पूजा गर्ने चलन छ । सोही दिन अनिवार्य रूपमा ठूलाबडा आफन्तलाई ढोगभेट गरी आशीर्वाद लिने चलन समेत छ ।

०५७ अघि माघीका समय छोरीबेटीलाई साहुमहाजनका घर कम्लरी, बुक्रेनी र कमैया राख्ने निधो हुन्थ्यो । सरकारले ०५७ साउन २ गते कमैया प्रथा अन्त्य घोषणापछि अहिले उक्त परम्परा हटेको छ ।

थारू समुदायका बालबालिका, युवायुवती तथा वृद्ध मघौटा नाचगान गर्दै रमाइरहेका छन् । माघीबाट थारूको नयाँ वर्ष सुरु हुने भएकाले वर्षभरिका लागि बडघर, चौकीदार, स्वयंसेवकलगायत गाउँका अगुवा चयन गर्ने गरिन्छ । बडघर पदमा केही समयदेखि पहाडी मूलका व्यक्तिलाई पनि राखिँदै आएको छ । आपसी सद्भावको पर्वका रूपमा मनाइने भएकाले अन्य जातजातिसमेत माघीमा रमाउने गरेका छन् ।

प्रकाशित : माघ १, २०७३ १९:३९

प्रतिक्रिया
पठाउनुहोस्