लमजुङमा तामाङ महोत्सवको रमझम [फोटोहरु]

शब्द/तस्बिर: आश गुरुङ

लमजुङ — बेसीसहरमा प्रथम ऐतिहासिक तामाङ साँस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी हुन जिल्लाका ग्रामीण भेग साथै वरपरका जिल्लाबाट तामाङ समुदाय बेसीसहर झरेका छन् ।

मञ्जुश्री सम्बत् २८५३ औं ज्या ल्हो (चरा बर्ग) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिले २ दिने तामाङ साँस्कृतिक महोत्सवको आयोजना गरेको हो । तामाङ समुदायले अर्को साता (माघ १५ गते) धुमधामका साथ सोनाम ल्होछार मनाउँदैछन् ।

यसको पूर्वसन्ध्यामा महोत्सवको आयोजना गरिएको आयोजक नेपाल तामाङ घेदुङ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए । फूलबारी मञ्चमा आयोजित महोत्सवमा १२ वटा स्टल राखिएका छन् ।

महोत्सवको पहिलो दिन शनिबार बेसीसहरको मनाङे चौतारामा जम्मा भएका तामाङ समुदायले मौलिक भेषभूषासहित संस्कृति र झाँकीसहितको र्‍याली निकालेका थिए । महोत्सवमा लामा नाच, वोन्बो नाच, ताम्बा नाच, सेलो लगायत प्रस्तुत गरिएका छन् ।

‘भाषा लिपी मौलिक संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको कृषि राज्यमन्त्री राधिका तामाङले उद्घाटन गरिन् ।

महोत्सवमा तामाङ भाषा, संस्कृति, परम्परागत खाना, तामाङ गाउँहरुका फोटो, तामाङ जातिले गरेका कृषि उत्पादनहरुको प्रर्दशनी गरिएका छन् । महोत्सवमा तामाङ समुदायका राष्ट्रिय तथा स्थानीयस्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहेको नेपाल तामाङ साँस्कृतिक घेदुङ प्रदेश नं. ४ का प्रमुख प्रीतिमान तामाङले बताए ।

प्रकाशित : माघ ८, २०७३ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्