एकमहिने स्वस्थानी मेला सम्पन्न

तस्बिर : अंगद ढकाल

काठमाडौं — हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ ।

व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ–एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

सो अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

एकतीस अध्याय रहेको सो कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।

यस वर्ष एकसय ७७ महिला र १५ पुरुषले माधवनारायण एवम् स्वस्थानीको कठोर व्रत गरिरहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । बेलुकी आज अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरिने समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिए ।
स्कन्दपुराणको केदार खण्डको माघ महात्म्यमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले सो अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी स्वस्थानीको पूजापाठ गर्नाले ठूलो फल मिल्ने उल्लेख छ ।

रासस

प्रकाशित : माघ २८, २०७३ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

बसमा नचढाएको भन्दै विद्यार्थीद्वारा चक्काजाम र तोडफोड

अर्जुन राजवंशी

दमक — बसमा नचढाएको बिरोधमा दमक बहुमुखी क्याम्पसका बिद्यार्थीले शुक्रबार चक्काजाम गर्नुका साथै सवारीसाधन तोडफोड गरेका छन् ।

विद्यार्थीले बिहान साढे १० देखि एक घण्टा दमकको क्याम्पस मोडस्थित राजमार्गमा चक्काजाम गरेका हुन् । चक्काजाम गरेको समयमा गाडी चलाएको भन्दै उनीहरुले तीन वटा सवारीमा तोडफोड समेत गरेका छन् । उनीहरुले यातायात व्यवसायी लखनपुर–१ का कृष्ण न्यौपानेलाई कुटपिट गरी घाइते बनाएका छन् ।

विद्यार्थीले मे १ च ३९५१ र मे १ च १७३८ नं. को मिनी ट्रक तथा को १ ख ४०८८ नं. को बसमा तोडफोड गरेका हुन् । सो क्रममा विद्यार्थीको कुटपिटबाट मे १ च ३९५१ नं.को ट्रकका धनी न्यौपानेको दायाँ खुट्टा भाँच्चिएको छ । उनको स्थानीय निम्स नेशनल अस्पतालमा उपचार भइरहेको छ । 

‘विद्यार्थीलाई गाडीमा चढाउनै मान्दैनन् । चढाइहालेपनि गाडी स्टाफले दुव्र्यवहार गर्छन् त्यसैले विरोधस्वरुप चक्काजाम गर्नुपरेको हो’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य कुलबहादुर बस्नेतले भने । उनले यस विषयमा पटक–पटक प्रशासनको ध्यानाकर्षण गराउदा समेत सुनुवाई नहुँदा विद्यार्थीहरु सडकमा उत्रिएको बताए । 

उनले भने,‘हामीले पाउने सुविधा खोजेका हौं । तर सुविधाको सट्टा हामीमाथि उल्टै दुव्र्यवहार हुने गरेको छ ।’ विद्यार्थीहरु चक्काजामका साथै तोडफोड र कुटपिटमा उत्रिएपछि अहिले यातायात व्यवसायी र विद्यार्थीबीच छलफल भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बुले बताए । दमक बहुमुखी क्याम्पसमा जिल्लाको दुधे र मोरङको पथरीसम्मका विद्यार्थी पढ्न आउँछन् ।

 

प्रकाशित : माघ २८, २०७३ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्