१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

स्कुलमै कोरीबाटी [फोटोफिचर]

कान्तिपुर संवाददाता

गोरखाको मकैसिंह-३, बरडाँडाको प्रजाबस्ती प्राथमिक विद्यालयमा आयोजित ग्रामीण शिविर कार्यक्रममा कक्षा ४ मा अध्ययनरत सञ्जय चेपाङ एकाएक भक्कानिँदै पानी माग्दा सहभागी अधिकांशका आँखा रसाए ।

पृथ्वी राजमार्गमा गुडिरहेका सवारी साधनको आवाज प्रस्टै सुनिने प्रजाबस्ती विद्यालयमा सञ्जय जस्तै कक्षा १ देखि ४ सम्म अध्ययनरत १ सय २१ चेपाङ बालबालिकाहरुले साझा समस्या झेलिरहेका छन्, पिउने पानीको । विद्यार्थी मात्र नभई दुई सयभन्दा बढी घरधुरीका करिब ९ सय जनसंख्यामा समेत खानेपानीका लागि २ घण्टाभन्दा बढी पैदल दूरीमा धाउनुपर्ने बाध्यता छ । नेपाल चेपाङ संघका केन्द्रीय उपाध्यक्ष एवं गोरखाको विजय भवानी उच्च माविका अर्थशास्त्र विषयका शिक्षक विल चेपाङका अनुसार यहाँका विद्यार्थीहरुमा बिचैमा विद्यालय छाड्ने समस्या झन् ठूलो छ । उनले भने ‘कक्षा १ मा भर्ना भएका ७० विद्यार्थी मध्ये ३ जना मात्र १०मा पुग्छन् ।’ यसको कारणमा अशिक्षा, गरिबी तथा आवश्यक न्युनतम पूर्वाधार नै प्रमुख रहेको उनले औंल्याए । साथै राज्यका तर्फबाट आफूहरुलाई सधै बेवास्ता गर्ने गरेको उनको आरोप छ । ‘कक्षा ४ सम्म पठनपाठन हुने १२१ विद्यार्थी अध्ययन गर्ने विद्यालयमा २ जना सरकारी शिक्षकको दरबन्दी हुनुले नै यसलाई प्रष्ट पार्छ’ चेपाङले भने । यस अलावा यहाँका करिब ८० प्रतिशतसँग जग्गाधनी प्रमाणपत्र तथा ५० प्रतिशत चेपाङ नागरिकता समेत नभएको उनको भनाइ छ । प्रजाबस्ती प्राविका प्रधानाध्यापक गंगा घिमिरेले विद्यालयमा आवश्यक शिक्षक दरबन्दी तथा न्युनतम पूर्वाधारले पठनपाठनमा समस्या हुने गरेको बताइन् । उनले भनिन, ‘भूकम्पले ध्वस्त संरचना त बन्यो, अझै कार्यालय, पुस्तकालय, तथा पाठ्यसामाग्रीको टड्कारो समस्या छ ।’ घिमिरेका अनुसार भएका डेक्स बेञ्चसमेत विद्यार्थीहरुका लागि अपुग छन् ।


 
भूकम्पपछि ध्वस्त विद्यालयको पुन:निर्माण विदेशी दाताहरुको सहयोगमा गैरसरकारी संस्था करुणामय फाउण्डेसनले गरेको हो । संस्थाका अध्यक्ष स्वेस्ता ढुङ्गानाका अनुसार विद्यालयको भौतिक संरचनाको निर्माण सकिएकाले अब पुस्तकालय तथा पाठ्यपुस्तक व्यवस्थापनका लागि दाताहरुसँग कुरा भइरहेको छ । कार्यक्रममा सामाजिक कार्यका विद्यार्थीहरुले उपस्थित हरेक विद्यार्थीहरुलाई न्यानो टोपी, कापी, पेन्सिल, इरेजरसहित बिस्कुट तथा मिठाईको झोला बाँडेपछि भने उनीहरुमा केही खुसी झल्किएको थियो । साथसाथै सामाजिक कार्यका विद्यार्थीहरुले बालबालिकालाई स्वस्थ तथा सफा रहन सिकाउने उद्देश्यले तेल लगाईदिने, कपाल कोर्ने, रिबन बाँध्ने तथा नङ काटिदिएका थिए ।

सेन्ट लरेन्स कलेजका सामाजिक कार्य विभागका प्रमुख राजेशमान सिंहले हरेक वर्ष ग्रामीण भेगका विद्यार्थीहरुका लागि संस्था तथा विद्यार्थीहरुको पहलमा सक्दो सहयोग गर्दै आएको बताउँदै भने, ‘यस ठाउँमा फेरि पनि सहयोग लिएर आउने इच्छा छ ।’ पैदल फर्कंदै गर्दा बाटोमा भेटिएका एभरेष्ट होलिडे ट्र्राभलका प्रमुख कार्यकारी अधिकृत श्रीजन सिंखडाले यो स्थान राजधानीबाट नजिकै भएर पनि ओझेलमा परेको भन्दै तपाईंहरु सहयोगका लागि ठिक ठाउँमा आएको प्रतिक्रिया दिएपछि सिंहले थप सहयोगको लागि आफू झन् उत्साहित भएको बताए ।

प्रकाशित : फाल्गुन १, २०७३ १४:४३

प्रतिक्रिया
पठाउनुहोस्