हिमपातले मनाङमा सास्ती (फोटो)

अाश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा हिमपात नरोकिँदा जनजीवन अस्तव्यस्त बनेको छ । यो सिजनकै सबैभन्दा बढी हिमपात भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मनाङमा एकसातादेखि लगातार हिमपात भइरहेको छ । माथिल्लो मनाङ क्षेत्रमा दुईफिटसम्म हिमपात भएको माथिल्लो पिसाङका याङडुङ गुरुङले बताए ।

हिमाली जिल्ला मनाङमा हिमपात नरोकिँदा जनजीवन अस्तव्यस्त बनेको छ । यो सिजनकै सबैभन्दा बढी हिमपात भएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार मनाङमा एकसातादेखि लगातार हिमपात भइरहेको छ । माथिल्लो मनाङ क्षेत्रमा दुईफिटसम्म हिमपात भएको माथिल्लो पिसाङका याङडुङ गुरुङले बताए । उनका अनुसार माथिल्लो मनाङको ७ गाविसमा भारी हिमपात भइरहेको छ । नार र फू साथै तल्लो मनाङको सदरकुाम चामे, तिमाङ, थान्चोकमा हिमपात भइरहेको स्थानीयले बताए । तल्लो मनाङको धारापानी र तिल्चेको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको स्थानीयको भनाइ छ ।

चक्रीय अन्नपूर्ण पदमार्ग पुरै हिउँले भरिएपछि सडक र पदमार्ग अवरुद्ध बनेको निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताए । सवारी साधन र पदमार्ग अवरुद्ध हुँदा पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । हिमपातका कारण केही पर्यटक फर्किएका माथिल्लो पिसाङका गुरुङले बताए ।

‘बाटैभरी हिउँ परेको छ । चिसो बढेको छ । हिउँ पर्दा बाहिर निस्कन सकेको छैन,’ उनले भने । हिउँ परेपछि मोबाइल सम्पर्कमा पनि समस्या आएको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार माथिल्लो मनाङको मनाङ गाउँक्षेत्रमा कहीँकतै २ फिटसम्म हिउँ परेको छ । सवारी आवागमन रोकिएको छ ।

‘हिउँ पर्न नरोकिएसम्म माथिल्लो क्षेत्र (थोराङ्ला भञ्ज्याङतर्फ) जान पर्यटकलाई रोकेका छौं,’ उनले भने, ‘हिउँ रोकिएपछिमात्रै गन्तब्यमा जान भनेका छौं ।’ उनले हिमपात हुँदा आइपर्ने समस्याबारे पर्यटकलाई जानकारी गराएको बताए ।

निमित्त प्रहरी प्रमुख इन्सपेक्टर अर्जुन गहतराजका अनुसार हिमपातका कारण तल्लो क्षेत्रका दानाक्युबाट चामे र चामेदेखि माथिल्लो क्षेत्रमा सडक अवरुद्ध भएको छ । एउटा गाउँदेखि अर्को गाउँ जाने बाटो अवरुद्ध छ । सदरमुकाम चामेदेखि नार र फू जाने बाटो अवरुद्ध बनेको छ ।

हिउँ जमेकाले लघु जलविद्युत आयोजनामा पनि समस्या परेको छ । हिमपातका कारण अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।



तस्बिर सौजन्य: बाबुलाल तिरुवा/एक्याप मनाङ प्रकाशित : फाल्गुन २८, २०७३ १६:५७

प्रतिक्रिया
पठाउनुहोस्