कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीयस्थल भेडेटारमा पर्‍याे डेढफुट असिना [फोटो]

हिउँ सम्झेर खेल्न उर्लिए युवायुवती
प्रदीप मेन्याङ्बो

धरान — गर्मीयाम सुरु हुनलाग्दा दोश्रोपटक पूर्वको पर्यटकीय स्थल भेडेटारमा सोमबार दिउँसो डेढ फुटसम्म असिना परेर सेताम्मे भएको छ । भेडेटार धनकुटा र सुनसरीको सीमानामा पर्छ । समुद्र सतहदेखि १४२० फुट उचाइमा रहेको भेडेटारमा मौसम परिवर्तनसंगै असिना परेको हो । भेडेटारमा डेढ दशक अघि हिउँदमा भारीमात्रामा असिना परेको थियो ।


 
दिउँसो १ बजेदेखि पर्न थालेको असिना पानीले भेडेटार आसपासका डाँडाहरु सेताम्मे भएका छन् । सडक अवरुद्ध बनेको छ । असिनापानी परेपछि भेडाटारमा अत्याधिक जाडो बढेको होटल भेडेटारकी संचालिका पदमिनि राइले बताइन् ।

‘आकासबाट यति धेरै असिना वर्सियो कि डाडाकाडा सवै सेताम्मे बनायो । बस्तीमा लगाएको बाली नाली, फलफुल, बोट विरुवा सवै सखाप भए,’ उनले भनिन् । उनले धेरै युवायुवतीहरु भेडेटारमा हिउँ परेको ठानेर हिउँसंग खेल्न आउनेहरुको भिड जमेको बताइन् । भेडेटारमा बाक्लो असिना परेपछि धरानमा अत्यधिक चिसो बढेको छ ।
 
होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले भेडेटारमा डेढ फिटसम्म असिना थुप्रेको बताए । उनले भने, ‘पर्यटकीयस्थल सेताम्मे भएपछि धेरै जना हिउँ परेको ठानेर हिउँ खेल्न आए तर असिनासंग खेले ।’

उनले यति धेरै असिना परेको जीवनमै नदेखेको बताए । असिना थुप्रीएर हिउँको डंगुर जस्तै भएको बताए । युवायुवतीहरु जाडो भएपनि कठाङ्ग्रीदै असिनालाई हिउँ सम्झेर खुव रमाइलो गरेको उनले बताए ।

भारी असिना परेसँगै धरान–धनकुटा चल्ने सार्वजनिक तथा निजी सवारीसाथनहरु चल्न नसकेको भेडाटार स्थित प्रहरी चौकीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबारसम्म असिना पानी पर्न सक्ने पूर्वानुमान गरेको छ ।

  प्रकाशित : चैत्र ७, २०७३ १८:०८

प्रतिक्रिया
पठाउनुहोस्