ताङतिङ मेलैमा... [फोटोफिचर]

शब्द/तस्बिर : आश गुरुङ

ताङतिङ (कास्की) — अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङतिङमा ताङतिङ मेला लागिरहेको छ । गाउँलाई राष्ट्रिय तथा अन्तर्रास्ट्रिय समुदायमाझ चिनाउन स्थानीयले हरेक वर्ष चैतेदसैंको अवसरमा मेलाको आयोजना गर्दै आएको छ ।

खेलकुदका माध्ययमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने स्थानीयको उद्देश्य छ । मेलालाई विदेश गएका तथा सहरबजार झरेका स्थानीय र गाउँलेबीच भेटघाट हुने ठूलो अवसरमा लिइएको छ । यस्तै, गाउँ वरपरका इष्टमित्र समेत मेलाको अवसर पारेर आफ्ना आफन्तसँग भेटका लागि आउने गरेका छन् । तीन वर्षअघि हङकङ गएकी बिपना गुरुङले मेलाको अवसरमा गाउँ आउनुका साथै भाइ जसबहादुर गुरुङसँग मिलेर भलिबलको पहिलो पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरेको बताइन् । स्थानीय युवा अगुवा बेदबहादुर गुरुङ (श्याम)का अनुसार हरेक वर्षको ताङतिङ मेलामा विदेश गएका वा सहरबजार झरेका आउँछन् । आउन नपाएकाले मेलामा सहयोग गर्दै आएका छन् । स्थानीय युवा एकजंग गुरुङले ताङतिङमा लाग्ने मेला यस भेगमा चर्चित मेला भएको बताए । ‘वर्षौदेखि आयोजना गरिँदै आएको मेलाले भातृत्व कायम गर्न मद्दत पुगेको उनले बताए । 

ताङतिङ युवा क्लबले २८ वर्षयता मेलाको आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष क्षेत्र गुरुङका अनुसार मंगलबारदेखि सुरु भएको मेला शुक्रबार सकिँदैछ । मेलामा भलिबल, बास्केटबल, छेलो (ठेलो) प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, गजल, झाँकी लगायत कार्यक्रम भइरहेका छन् । होमस्टेका परिकार पनि मेलाको आकर्षण रहेको उनले बताए । मेलाका संस्थापक संयोजक बेलायती सेनाका भूपू मेजर बालासिंह गुरुङले गाउँको पहिचानका लागि मेलाको सुरुवात गरिएको बताए । स्थानीय हिमालय माविका शिक्षक जसबहादुर गुरुङका अनुसार मेलाले ताङतिङलाई पर्यटकीय गन्तब्यको रुपमा चिनाउन मद्दत पुर्‍याएको छ । 
करिब २ सय घर एकै ठाउँमा रहेको ताङतिङ गाउँ समुद्री सतहदेखि झण्डै १ हजार ६ सय ५० मिटरको उचाईमा पर्छ । पोखराको काहुँखोलादेखि करिब २४ किलोमिटरको दूरीमा पर्ने उक्त गाउँ यसअघि नामार्जुङ गाविसको १ देखि ५ नं. वडाको थियो । अहिले मादी गाउँपालिका वडा नं. २ मा पर्छ ।

प्रकाशित : चैत्र २४, २०७३ १२:०२

प्रतिक्रिया
पठाउनुहोस्