यसरी खरानी बन्यो दलित खत्वे बस्ती [फिटोफिचर]

भरत जर्घामगर

सिरहा — सिरहाको सखुवानन्कारकट्टी-४ सिमराहास्थित दलित खत्वे बस्तीमा सोमबार आगलागी हुँदा २९ परिवारका ५६ घर जलेर नष्ट भएको छ । आगलागीमा एक करोडभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीय भोगेन्द्र मण्डल खत्वेको चुलोमा खाना बनाएको खरानी फालेको ठाउँबाट दिउँसो साढे चार बजे परालको टालमा सल्किँदा आगलागी भएको थियो ।

पश्चिमा हावा चलेका कारण क्षणभरमैं बस्ती आगोले सखाप पारेको थियो । अधिकांश पुरुष महिला खेतमा गहुँबाली काट्न गएका कारण आगलागी हुँदा बस्तीमा बालबालिका र वृद्धवृद्धामात्र भएकाले लत्ताकपडा, सरसामान, खाधान्न जलेर नष्ट भएको छ । आगलागीमा परी दुई वटा गाई, एक बाछा, ४ बाख्रा र एउटा खसी जलेको छ ।

आगलागीमा ईलाका प्रहरी महेशवारीका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीका अनुसार आगलागी भएको अढाई घण्टापछि बारुण यन्त्र अबेर पुगेकाले पनि धेरै क्षति भएको हो । आगलागी नियन्त्रणको लागि लहान नगरपालिकाको बारुण यन्त्र मगाए पनि बाटैमा बिग्रिएपछि साँझ सात बजे धनगढीमाई नगरपालिकाको बारुण यन्त्र आगलागी स्थल पुगेको थियो । ‘साँघुरो सडकसँगै बाटैमा बस्तुभाउ बाँध्ने किला उखेल्नुपरेको र कतिपय स्थान बाटोको रुखसमेत काट्नुपरेकाले आगो नियन्त्रणका लागि बारुण समयमा पुग्न सकेन’ उनले भने ‘बारुण यन्त्र पुगेको एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।’ आगो नियन्त्रणमा आएपनि मंगलबार बिहानसम्म धुँवा आइरहेकाले स्थानीयवासीले आगो निभाइरहेका थिए । 

राहत वितरण 
यसैबीच दैवी प्रकोप उद्धार समिति, रेडक्रस, जिल्ला समन्वय समितिले मंगलबार आगलागी पीडित परिवारलाई राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले पीडित परिवारलाई जनही पाँच हजार रुपैयाँ, रेडक्रसले त्रिपाल र कम्बल, जिल्ला समन्वय समितिले खाधान्न वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले सडक अभावमा बारुण यन्त्र समयमा पुग्न नसक्दा बढी धनजन क्षति भएको जानकारी दिए । 

तस्बिर : भरत जर्घामगर/कान्तिपुर प्रकाशित : चैत्र २९, २०७३ १३:४३

प्रतिक्रिया
पठाउनुहोस्