मुसहरले पाए नयाँ वर्षमा घर उपहार [फोटोफिचर]

महोत्तरी — बर्दिवास नगरपालिका १ मा रहेको मुसहर बस्तीमा शुक्रबार बिहानैदेखि नै चहल पहल सुरु भएको थियो । स्थानीय समुदाय, विद्यार्थी सामाजिक सद्भभाव फैलाउने नारा लेखिएका प्लेकार्ड, ब्यानर लिएर लामबद्ध थिए भने सँगै पञ्चबाजा र विभिन्न समुदाय मौलिक बाजा घन्किरहेका थिए । निकै तामझामपूर्ण र्‍यालीमा स्थानीय उत्साहित हुँदै सहभागी भएका देखिन्थे ।

मुसहर बस्तीमा बिहानै  रौनकता सुरु हुनुको कारण  सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशनले निर्माण गरेको एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण कार्यक्रमका लागि ।

 

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले देश-विदेशबाट रकम संकलन गरेका ५३ वटा भवन शुक्रबार हस्तान्तरण गरिएको छ । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले  एकीकृत मुसहर बस्ती संरक्षण समिति अध्यक्ष बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तरुण गरे । त्यसक्रममा मुख्य सचिव सोमलाल सुवेदी, बसुन्धरा भुसाल, कलाकार धुर्मुस, सुन्तली, उनीहरुका बुबा आमा लगायतको उपस्थिति थियो ।  फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ । बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ । नयाँ वर्षमा नयाँ बासस्थान पाएपछि मुसहर समुदायमा खुसी छाएको छ । 

तस्बिर : शेखर अधिकारी/कान्तिपुर

प्रकाशित : वैशाख १, २०७४ ११:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सारेगम युवतीहरू

झट्ट सुन्दा र बुझ्दा निकै बोझिलो लाग्न सक्छ– शास्त्रीय संगीत अर्थात् क्लासिकल म्युजिक । तर, यही जानरमा झुम्मिएका छन्– भर्खरका तरून–तन्नेरीहरु । यही भीडमा केही सौखिन ‘शास्त्रीय’ युवती भेटिए जो करियरमा प्लस टु म्यानेजमेन्ट अथवा ए लेभल पढिरहेका थिए ।
देवेन्द्र भट्टराई

प्रखर तबलावादक अतुल गौतमकी छोरी हुन्– सुलक्षणा । म्यानेजमेन्ट विषयमा प्लस टुकी विद्यार्थी सुलक्षणाको यो ‘करियर’ मात्रै हो । ‘प्यासन’ को कुरा भने अलग छ । ‘मेरो प्यासन भनेको राग–रागिनी हो,’ अघिल्लो शुक्रबारको एउटा सांगीतिक साँझमा राग हंस–ध्वनिबाट अतिथि स्वागत गरेपछि सुलक्षणाले सुनाइन्– ‘सायद मेरो रगतमै यो प्यासन लुकेको छ ।’

शास्त्रीय संगीत र त्यसमा पनि तबला वादनमा ख्याति कमाएका अतुलको अल्पायुमै निधन भएको थियो । सन् २००३ मा ३१ वर्षे उमेरमै अतुलले यो संसार छाड्दा सुलक्षणा ८ वर्षकी मात्रै थिइन् । तैपनि बाबुले राखेको शास्त्रीय प्यासन र त्यस्तै खालको संगतले उनलाई छोइसकेको रहेछ, त्यो पछि थाहा हुँदै गयो । आइपर्दा तबला बजाउन पछि नपर्ने सुलक्षणाले ‘भोकल’ मा राम्रै पारख राखेकी छन् । किराँतेश्वर संगीत आश्रमले गर्ने प्रतिस्पर्धामा उनी शास्त्रीय गायनतर्फ २०६९ सालमा प्रथम भएकी थिइन् । 

गाना–बजानाको त्यही भीडमा उमेरमा २० पनि नटेकेकी अर्की युवती पनि भेटिइन् जो आफ्नो ‘प्यासन’ को कुरो सुनाउन इच्छुक थिइन् । यी सुगमा गौतम ए लेभल अध्ययनरत विद्यार्थी हुन् । तैपनि उनी बिहान–बेलुकै शास्त्रीय राग–रागिनीमा मुग्ध बनिरहेकी हुन्छिन् । कसैले अह्राएर होइन, घरेलु संगतमै बाँधिएर उनी पनि शास्त्रीय गायनमा तानिएकी हुन् । उनका बुबा अजित गौतमसँग जानकी जीवन कुञ्ज भन्ने आध्यात्मिक संस्थामा गाँसिएर मात्रै होइन, गानाबजानामा निकै सिद्धहस्त हारमुनियम वादक भएर भिन्न अर्थमा आध्यात्मिक र शास्त्रीय चिनारी छ । ‘सानैदेखि संगीतको माहोलमा हुर्किएकाले हुन सक्छ, म आफैं यता तानिएकी हुँ,’ सुगमाले भनिन् । उनी पनि किराँतेश्वर संगीत आश्रमले गर्ने प्रतिस्पर्धामा शास्त्रीय गायनतर्फ २०७१ सालमा प्रथम भएकी थिइन् । 

अघिल्लो शुक्रबार साँझ भक्तपुरस्थित नमुना घरमा आयोजित एउटा विशिष्ट शास्त्रीय गायन साँझमा सुलक्षणा र सुगमा मात्रै होइन, अर्की सिद्धहस्त गायिका सुजाता बर्मा पनि हारमुनियमको रिडमा औंला खेलाउँदै आफ्ना बारेमा सुनाइरहेकी थिइन् । शास्त्रीय संगीतमा चिनिएका प्रतिभा विनय बर्माकी छोरी सुजाता पनि घरेलु माहोलका कारण ‘जन्मसिद्ध’ रूपमा यही दुनियाँमा छिरेकी थिइन् । काठमाडौं, कपनमा जन्मे–हुर्केकी सुजाताको बाल्यकालीन अधिकांश समय पशुपति परिसरमै बितेको थियो, आध्यात्मिक–धार्मिक–सांगीतिक कारणले । पशुपति परिसरमा भेटिने भजनमण्डलीमा रम्ने बानी लागेका कारण शास्त्रीय गायन उनको चर्को ‘प्यासन’ बन्यो, जानीनजानी । 

किराँतेश्वर संगीत आश्रमको साधनामा बानी परेकी सुजाता पछि गएर यही आश्रमले गर्ने शास्त्रीय संगीत प्रतियोगितामा गायनमा प्रथम बनेकी थिइन् । उनी २०६६ सालमा रेडियो नेपालको आधुनिक गायन स्पर्धामा पनि प्रथम बनेकी थिइन् । सुजाता अहिले भारतको कोलकातास्थित रवीन्द्र भारती संगीत विश्वविद्यालयमा शास्त्रीय गायनमा स्नातकोत्तर तहमा पढिरहेकी छन् । ‘शास्त्रीय संगीतको राग–रागिनी वा सुर त जहाँ पनि एउटै हो । तर कोलकातामा पुगेर मैले शास्त्रीय संगीतमा पनि मिठास भित्र्याउन सकिने उपाय सिकें, यसलाई गायकीको टेक्निक पनि भनिन्छ,’ उनी भन्छिन् । 

‘प्यासन’ को अलग दुनियाँ
आफ्नो ‘करियर’ भन्दा अलग सौख रोजेकाले सुलक्षणा र सुगमालाई कहिलेकाहीँ यसमा तालमेल मिलाउन हम्मेहम्मे पनि पर्छ । हरेक दिन रियाज, गुरुसंगत अथवा विभिन्न पर्फमेन्सहरूमा कुदिरहनुपर्छ । तैपनि जेनतेन भ्याएकै छन् । ‘मैले सुरुमा गुरु विनय बर्माबाट भोकल सिकेकी हुँ, पछि अतुल स्मृति संगीत गुरुकुलमार्फत राजु शाह, मनमोहन थपलियाबाट पनि सिक्ने मौका पाएँ,’ सुलक्षणा भन्छिन् । उनले किराँतेश्वर संगत आश्रम, नेपाल म्युजिक सेन्टर, यलमाया क्लासिक, कपन संगीत सरोवरलगायतमा पर्फमेन्स दिँदै आएकी छिन् । हरेक बिहान २/३ घण्टा रियाज, दिउँसो कलेज र बेलुका भिन्न खालका होमवर्कमा उनको दिन बित्ने गर्छ । अझै फुर्सद मिल्यो भने मिस्ट्री अथवा फिलोसफी मिसिएका पुस्तक पढ्ने सौख उनी राख्छिन् । यो पढ्ने रुचिको सूचीमा आम युवायुवती झैं उपन्यासकार पाउलो कोहेलो त पर्छन् नै । 

सुगमा भने ए लेभलको पढाइपछि संगीतमै उच्च शिक्षाको भविष्य बनाउने योजनामा छिन् । अलिक पछि लाइट–म्युजिक पनि सिक्ने उनको इच्छा छ । अहिले भने पढाइबाहेक बिहान–बेलुकीको फुर्सदमा उनी रियाज गरिरहेकै हुन्छिन् । यसबाहेक पुल्चोकमा निजी तहमा संगीत सिकाउने गुरु श्री केसीसँग उनी गुरु थाप्न जान्छिन् । ध्रुपद गायनमा बनारसबाट मास्टर्स गरेर आएका गुरु केसीको सांगीतिक गाम्भीर्यता र साधना पनि उत्तिकै कडिकडाउले भरिएको हुन्छ । ‘म पनि किराँतेश्वर, यलमाया, कपनतिर संगीत पर्फमेन्समा गइरहेकी हुन्छु,’ उनले सुनाइन्, ‘अरू फुर्सदमा पाउलो कोहेलो, चेतन भगतका पुस्तक पढिरहेकी हुन्छु । नेपालीमा भने जीवन काँढा कि फूल (झमक घिमिरे), राधा (कृष्ण धरावासी), सेतो धर्ती (अमर न्यौपाने) भर्खरै पढेकी थिएँ ।’

सुलक्षणा–सुगमाको दाँजोमा सांगीतिक साधना र अनुभवमा अलिक परिपक्व लाग्ने सुजाता भने अझै पनि धेरैजसोले संगीत विषयलाई अध्ययन/चिन्तनको विषय नठान्ने गरेकोमा आश्चर्यमा थिइन् । उनका वरपर ‘तपाईं के पढ्दै हुनुहुन्छ ?’ भनेर सोधिरहनेहरू उत्तिकै हुँदारहेछन् । उनको जवाफ स्वभावत: हुन्छ– ‘संगीत पढ्दै छु ।’

अनि प्रतिवाद–स्वर सुनिन्छ– ‘अरे बाफरे, संगीत पढ्ने हो र ? संगीत भनेको गर्ने पो हो त । बजाउने–गाउने पो हो त ।’

कतिपय यस्ता दोहोरीमा तर्क र जवाफको अर्थ रहन्न । अनि थप जवाफी नबनीकन सुजाता शास्त्रीय गायनका कक्षा वा अभ्यासहरूमा पुगिहाल्छिन् । तबलावादक सरिता मिश्रको विशेष पहलमा सञ्चालित गौरीघाटस्थित नाद संगीत पाठशालादेखि किराँतेश्वर आश्रमसम्म सुजाताको स्वर सुनिने गरेको छ । सुजाताले ११ वर्षकै उमेरमा शास्त्रीय गायनको एल्बम ‘संस्कार’ निकालेकी थिइन् भने त्यसपछि आधुनिक गायन र भजनको संकलन ‘विनय’ पनि बाहिर ल्याएकी छन् । नाद पाठशालामा भने पढाइगुनाइ अवसर नपाएका, सीमान्तकृत र अन्डर–प्रिभिलेज्ड झन्डै २ सय बालबच्चाले वादन, गायन, भायोलिन, तबला, मादल, गितार, फ्ल्युट, किबोर्ड, नृत्य आदि सिकिरहेका छन् ।

नमुना घरमा शास्त्रीय सुर
परम्परागत कला संस्कृति र सम्पदाका हिमायती भक्तपुरे प्रतिनिधि रवीन्द्र पुरीको युनेस्को अवार्डेड नमुना घरमा आयोजित शास्त्रीय गायन उत्सवमा सबै ‘गोल्ड मेडलिस्ट’ साधकहरू भेला भएका थिए ।

भोकलतर्फ सुलक्षणा, सुगमा र सुजाता मात्रै होइन, तबलावादनमा आएका जगन्नाथ धौगडा र संकल्प बर्मासमेत वादनमा किराँतेश्वर प्रतिस्पर्धामा प्रथम भएका प्रतिभा थिए । जर्मन राजदूत माथियास मायरको उपस्थितिमा झन्डै एक दर्जन नेपाली/हिन्दी गीत र राग–रागिनी सुनाएका यी ‘प्रथम’ प्रतिभाहरूले अम्बर गुरुङ, प्रेमध्वज प्रधान, बच्चुकैलाश, नारायणगोपाल आदिका कठिन लाग्ने गीतहरू पालो गर्दै फर्माइसमा गाएका थिए । उनीहरूले तिम्ले त होइन तिम्रा आँखाहरूले, सँगालेर राख–सम्हालेर राख, पोखिएर घामको झुल्का, तिम्रोजस्तो मुटु मेरो पनि, जहाँ छन् बुद्धका आँखाजस्ता मन हर्ने गीतहरू सुनाएका थिए । हिन्दीमा फर्माइसअनुसार ‘आज जानेकी जिद ना करो’, ‘सावन बितो जाये’ सहितका गीतहरू सुनाए ।
नेपाल–नेपाली भनेपछि मरिहत्ते गर्ने एक जर्मन नागरिक राइनर ब्रस्टको सम्मानमा आयोजित शास्त्रीय गानको संयोजन नमुना घरका सर्जक रवीन्द्र पुरी र तबलावादक सरिता मिश्रले गरेका थिए । जर्मन हितैषी राइनर ब्रस्टले रामेछाप र काभ्रेमा गरेर विभिन्न ६ वटा सरकारी विद्यालय निर्माणमा सहयोग गरेका छन् । उनको ‘स्कुल फर नेपाल’ अभियानमार्फत आशपुरी, फूलबारी, कात्तिकेदेउराली, दाप्चा, पनौती, हिलेदेवी आदि ठाउँमा नेपाली शैलीमा सरकारी विद्यार्थी निर्माण अथवा पुनर्निर्माण भएका छन् ।
शास्त्रीय गानाबजानाको माहोलको अन्त्यमा सुलक्षणा, सुगमा र सुजाताले रौसे शैलीमा ‘लेकाली हे चोयाको डोको’, ‘रेशम फिरिरी’ जस्ता लोकभाका पनि सुनाए । माहोलको अन्तिममा फर्माइसको पालो दोहोरिँदै थियो । यो रमित र गानाबजानालाई निकै आत्मीय ठानेर पछिल्लो पंक्तिमा बसिरहेका निकै अग्लो ज्यानका जर्मन राजदूत माथियास मायरले परैबाट हात उठाए । उनको फर्माइस (एउटा विदेशीका लागि) अनौठो लाग्ने थियो– आई वान्ट टु रिपिट बुद्धका आँखा... ।

अनि, निकै छिप्पिएको रातमा जर्मन राजदूतको फर्माइस गाउन थाले, शास्त्रीय युवतीहरू– जहाँ छन् बुद्धका आँखा... । 

प्रकाशित : वैशाख १, २०७४ ११:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT