आफ्नै पौरखमा ५५ घर [फोटोफिचर]

काठतल्लो आले (धादिङ) — भूकम्पपीडित विस्थापित परिवारहरुले आफैंले १६ महिना पसिना बगाएर सुन्दर नमुना बस्ती निर्माण गरेका छन् । जिल्लाको उत्तरी बस्ती लापाको कपुरगाउँ र नेवियरबाट विस्थापित भएर आएका ५५ घरधुरीले केही संस्थाहरुको निर्माण सामाग्री सहयोग लिएर ५५ परिवारलाई नै चिटिक्कै परेका चारकोठे भवन निर्माण गरेका छन् ।

भूकम्प गएको दिन लापाका कपुरगाउँमा रहेका ७५ घरधुरीमध्ये ६० घर पूर्णध्वस्त भएका थिए भने चार जनाले ज्यान गुमाएका थिए । बस्तीको चारैतिर पहिरो गएर नाकाबन्दी गरेको थियो । बस्तीको तलमाथि सबै चर्केपछि भूगर्भविद्हरुले पनि मानवीय बस्ती बसाल्न नमिल्ने भनेर सिफारिस गरेका थिए । 

मानवीय बस्ती बस्न नमिल्ने सिफारिस गरिएका रिगाउँ र लापाका ८ बस्तीहरुको व्यवस्थापन सरकारले गर्न नपाउँदै विस्थापितहरु आफैं जुर्मुराएका थिए ।  ध्वस्त भएको बस्ती र बारम्बार आइरहने परकम्पले विस्थापित कपुरगाउँ वृद्धवृद्धा, विपन्न र एकल महिलाहरुले सदरमुकाम नजिकैको ढोला–७, भुवालेपानी र तल्लोआले आएर शिविर स्थापना गरेका थिए । विस्थापितहरुलाई विभिन्न संघसंस्थाहरुले त्रिपाल र टेन्ट उपलब्ध गराएका थिए । ‘व्यक्तिको जग्गामा हामी कटुसको झाडी फँडानी गरेर विस्थापितहरु व्यवस्थापन गरेका थियौं ’ नमुना बस्तीका परिकल्पनाकार समाजसेवी युवा दिनेश तामाङले बताए । विस्थापित शिविरमा निकै कष्टपूर्ण तवरले बिताएका परिवार सरकारले भूकम्पपीडितलाई आवास व्यवस्थापन गर्ने विश्वास दिलाएका थिए । दिनेशले भने ‘विकट कपुरगाउँ फर्कन कठिन थियो, क्यानडास्थित चाइल्ड हेभेन ईन्टरनेसनल/नेपालले ३८ रोपनी जग्गा किन्न २९ लाख रकम दिएपछि विस्थापित शिविर राखेकै बाँझो जग्गा किनेर आर्थिक स्रोत जुटाई ५५ घरधुरीका लागि भूकम्प प्रतिरोधक घर बनाउने निधो गर्‍यौं  ।’

जग्गा खरिद गरे लगत्तै कनिङ्ग सेडुवलिङ्ग गुम्बा संगठन, माउण्टेनियर्स फर हिमालयज फाउडण्डेसन, द शाल्वेसन आर्मीको निर्माण सामाग्री सहयोगमा भुवालेपानीमा २९ परिवार तल्लो आलेमा २६ परिवारका लागि भवन निर्माण गरिएको छ । निर्माण सामाग्रीबाहेक सबै श्रमशक्ति विस्थापितहरु स्वयंले गरेका छन् । ५५ परिवारमा ३ सय १० जना बसोबास गर्छन् । शिविरमा स्थानीय सिकर्मी र डकर्मी लगायत खाडी मुलुकमा गएर निर्माण कार्य सिकेका युवाहरु प्रयोग गरिएको थियो । आर्थिक सहयोग जुटाउने लापा स्वास्थ्य सेवा विन्दु नामक संस्थाका पदाधिकारीले वर्षात्‌बाहेक लगातार १६ महिनामा समय खर्चेर सबै घर निर्माण गरिसक्यौं, गत चैत १६ गते उपराष्ट्रपति नन्दबहादुर पुनलाई बोलाएर सबैलाई ४ आना ३ पैसामा निर्माण भएको ४ कोठे घर जग्गाको लालपुर्जा समेत दिइसकेको बताएका छन् । एक परिवारको घर निर्माण गर्न १४ लाख खर्च भएको बताउँदै निर्माण समितिले विस्थापितले श्रमदान ४ लाख बराबरको गरेका छन् । नमुना बस्तीका महिलाले ढुङ्गा बोके युवाले पर्खाल लगाए र पाका उमेरकाले दरकाठको काम गरे । बस्तीमा खानेपानी, विद्युत लाईन समेत पुर्‍याइएको छ । गुम्बा निर्माण गरी बस्तीमा बसोबास गर्नेहरुलाई बौद्धधर्मका पञ्चशिलका सिद्धान्तहरु अनिवार्य लागू गरिएको छ । घर बेच्न नपाउने नियम पनि बनाएका छन् ।

बस्तीमा आयआर्जनका लागि होमस्टे सञ्चालन गर्ने, विभिन्न घरले हस्तकला उद्योग सञ्चालनमा ल्याउने, कुखुरा र पशुपालन, बेमौसमी तरकारी खेती कार्यक्रम र अन्य बस्तीमा पुनर्निर्माण गर्न दक्ष  जनशक्ति पनि उपलब्ध गराईने दिनेशले बताए । पुनर्निमाण प्राधिकरणबाट अनुमति लिन ८ महिना समय खर्चेको बताउने निर्माण समितिले सरकारले प्रदान गर्ने तीन लाख अनुदान उपलब्ध गराउन निवेदन दिएका छन् । तर, दोहोरो सुविधा लिन नपाईने प्रावधानले भूकम्प पुनर्निमाणको अनुदान रकम कसैले पनि पाएका छैनन् । बस्तीका १ सय ५० जना बालबालिकाहरुमध्ये बालिका १८ र ३२ जना किशोरहरु समेत ५० जनालाई बौद्ध दर्शन अध्ययन गर्न काठमाडौं पठाइएको छ । बाँकी स्थानीय विद्यालयम अध्ययन गर्छन् ।

 तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर र दिनेश तामाङ प्रकाशित : वैशाख २, २०७४ ११:३५

प्रतिक्रिया
पठाउनुहोस्