कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मध्यपुरथिमिमा मनाइयो अबिर जात्रा [फोटोफिचर]

भक्तपुर — मध्यपुरथिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको अबीर जात्रा अर्थात् सुथ: सिया जात्रा मनाइएको छ । वैशाख २ गते बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको अबिर जात्रा प्रसिद्ध जात्रा हो ।

केही वर्षअघि सम्म ३२ खट नगर परिक्रमा गराउने भने पनि यसवर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएको छ । अबिर जात्रामा बालकुमारी, कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ । 

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर  खेल्दै बाजागाजा सहित अबिर जात्रा मनाइएको छ । मुल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो  र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा अबिर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ । परम्पराअनुसार नै देवता लायकु दरबारभित्र पस्न नपाउन भनेर लायकु प्रवेश द्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । शनिबार दिउँसो मध्यपुरथिमि बोडेस्थित जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । 

तस्बिर : लीला श्रेष्ठ र हेमन्त श्रेष्ठ/कान्तिपुर

  प्रकाशित : वैशाख २, २०७४ १२:१५

प्रतिक्रिया
पठाउनुहोस्