१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घलेगाउँ पुगेर सेल्फी... [फोटोफिचर]

घलेगाउँ (लमजुङ) — सार्क भिलेज घलेगाउँमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ । सहरको कोलाहल र धुवाँधूलोबाट टाढा रहन आन्तरिक पर्यटकको रोजाइमा घलेगाउँ परेको हो । घलेगाउँ घुम्न र होमस्टेमा बास बस्न लमजुङका विभिन्न ठाउँबाट मात्रै नभई, काठमाडौं, पोखरा, चितवन, तनहुँ, गोरखा, नवलपरासी लगायत ठाउँबाट आएका छन् ।

साथीसंगी, टोल तथा छरछिमेक साथै स्कुल कलेजबाट पनि उत्तिकै मात्रामा अवलोकन तथा अध्ययनका लागि आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । घलेगाउँ आउने पर्यटकले अन्तिम घलेराजाको शालिक, गोर्खा पार्क, संग्रहालय, क्होइँबो तीं (गुरुङ पुरोहितको पाठशाला), चियाबगान लगायत घुम्ने गरेका छन् ।

पाटन हस्पिटल ललितपुरका डा. बुद्धि पौड्यालले पत्नी र नातेदारसहित नयाँ वर्ष मनाउन घलेगाउँ आएको बताए । दशकअघि गोरखाको आँपपिपलमा काम गर्दा बेंसीसहरसम्म आए पनि घलेगाउँ आउन नपाएको र यसपटक नयाँ वर्षको अवसरमा आएको बताए । नयाँवर्षमा घलेगाउँ घुम्न काठमाडौंकै ट्रिनिटी इन्टरनेश्नल कलेजका ६९ विद्यार्थीसहित शिक्षक गरी ७३ जनाको टोली घलेगाउँ आएका छन् । उनीहरुले भुजुङ र घलेगाउँमा सञ्चालित होमस्टेको अध्ययन गरेको शिक्षक अनामिका भट्टराईले बताइन् । पोखरा इलेक्ट्रिकल एसोसिएसनले घलेगाउँमा आएर शुक्रबार नयाँवर्षको शुभकामना आदानप्रदान गर्नुका साथै क्यालेन्डरको विमोचन गरेको छ । एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर कार्कीका अनुसार नयाँ वर्ष मनाउन ३० जनाको टोली घलेगाउँ आएको र यसै अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । उदिपुरका सुजन खवासले सहरका कोलाहल र धुवाँधूलोमा भन्दा एकदिने भए पनि गाउँमा आएर नयाँ वर्ष मनाएको बताए ।

घलेगाउँका युवा बाला घलेका अनुसार गाउँमा नयाँ वर्षको आसपासमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । गाउँसम्म मोटर चल्ने भएपछि पर्यटकलाई निकै सजिलो भएको हो । बेंसीसहरदेखि करिब साँढे २ घण्टाको सवारी यात्रामा घलेगाउँ पुग्न सकिन्छ । समुद्री सतहदेखि २१ सय मिटर उचाइको घलेगाउँमा १ सय २० घर छन् । ३० घरमा होमस्टेको व्यवस्था छ । घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार नयाँ वर्षको आसपासमा दैनिक डेढसयदेखि दुई सयसम्म पर्यटक आउने गरेका छन् ।

शब्द/तस्बिर : आश गुरुङ प्रकाशित : वैशाख २, २०७४ १२:४९

प्रतिक्रिया
पठाउनुहोस्