१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सिरहा माछामा आत्मनिर्भर [फोटोफिचर]

भरत जर्घामगर

सिरहा — स्थानीय उत्पादनले माग पूर्ति गर्न नसक्दा सिरहामा गतवर्षसम्म भारतीय बजारबाट माछा आयात गर्नुपरेको थियो । भारतको आन्ध्र प्रदेश, कोलकातासहित विभिन्न प्रान्तबाट आयात हुने माछाले बजार माग धानिरहेको थियो । त्यतिखेर स्थानीय उत्पादनले ७० प्रतिशतमात्र माग धान्न सकेको थियो । तर, अब त्यस्तो रहेन, सिरहा माछा उत्पादनमा आत्मनिर्भर बन्न बनेको छ ।

तराई/मधेसमा माछालाई उच्च स्वादिष्ट भोजनको रुपमा लिइन्छ । माछालाई उत्कृष्ट परिकारसँगै पाहुना सत्कार र मांसाहारी भोजमा समेत अनिवार्य मानिन्छ । पछिल्लो समय साधारण कृषकहरुसमेत मत्स्यपालनप्रति आकर्षित हुन थालेपछि माछा उत्पादनमा वृद्धि भएको हो । स्थानीय उत्पादनले बजार माग धान्न थालेपछि उपभोक्ताले समेत ताजा माछाको स्वाद पाउन थालेका छन् । माछाको मूल्य समेत केही सस्तो भएको छ । ताजा माछा पाइन थालेपछि हाटबजारमा उपभोक्ताको चाप बढी हुन थालेको छ । सिरहाको लहान, धनगढी, मिर्चैया लगायत विभिन्न बजारहरुमा दैनिक तीन क्वीण्टलभन्दा बढी माछा बिक्री हुन्छ । माछा व्यापारी लहान ५ का बिहारी सहनीका अनुसार गर्मी मौसमको तुलनामा जाडो मौसममा हाटबजारमा माछाको माग र बिक्री बढी हुन्छ ।

सिरहामा रहु, नैनी, कमन कार्प, बिग हेड, सिल्भर कार्प लगायत प्रजातिको माछा बढीमात्रामा बिक्री हुन्छ । व्यापारीका अनुसार यी प्रजातिका माछा सिरहाका हाटबजारमा प्रतिकेजी १ सय ५० देखि ४ सय रुपैयाँमा बिक्री हुन्छ । जिल्ला कृषि विकास सिरहाको तथ्यांक अनुसार जिल्लामा ३ हजार मेट्रिक टनभन्दा बढी माछाको माग छ । सिरहाका विभिन्न ठाउँका १ हजार ६ सय ६५ वटा निजी र सार्वजनिक पोखरीको ८ सय हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा माछापालन गरिन्छ । मत्स्य विकास अधिकृत फुलगेन यादवका अनुसार यो उत्पादनले सिरहाको बजार माग पूर्ति गरेको छ । स्थानीय उत्पादनले गतवर्षसम्म सिरहाको बजार माग ७५ प्रतिशत मात्र धानेको थियो ।

कृषि विकासले माछा उत्पादन वृद्धि गर्न केन्द्रीय योजनाअन्तर्गत कृषकहरुलाई माछापालनतर्फ आकर्षित बनाउने अभियान चलाएको थियो । पछिल्लो तीन वर्षमा मात्र माछापालन प्रयोजनका लागि करिब ८ सय निजी पोखरीहरु खनिएको छ । कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ९५ हेक्टर र मत्स्य विकास निर्देशनालयअन्तर्गत १८ हेक्टर गरी १ सय १३ हेक्टरमा थप २ सयवटा माछा पोखरी खनिदैछ जुन यही वैशाखदेखि असारसम्म सम्पन्न हुनेछन् । यी पोखरीमा प्रतिहेक्टर पाँच मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । मत्स्य विकास अधिकृत यादवले यही अनुपातमा माछा पोखरीको संख्या बढ्दै गए यहाँको उत्पादनले आउँदो केही वर्षमा माछाको स्थानीय खपतको आपूर्ति मात्रै होइन आयातलाई पुरै प्रतिस्थापन गरी निर्यातलाई प्रवर्द्धन गर्न सक्ने देखिन्छ । सिरहामा सिँचाई अभावका कारण धान खेती नफस्टाएको र एकै वर्षको माछाको आम्दानीले पाँच वर्षको धानखेतको आम्दानी उठाउन सकिने भएकाले स्थानीय किसान यसतर्फ आकर्षित भएका छन् जसका कारण सिरहा माछा उत्पादनमा आत्मनिर्भर बनेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ १५:०४

प्रतिक्रिया
पठाउनुहोस्