मे दिवस र मजदुर [फोटोफिचर]

माधव घिमिरे

विराटनगर — सोमबार १ मे अर्थात् मे दिवस । श्रम गरेर हातमुख जोड्ने मजदुरका हक, अधिकार प्राप्तिका लागि संघर्षलाई स्मरण गराउने यो दिनमा नेपालसहित विश्वभर कार्यक्रम गरी मनाइन्छ ।

मजदुर र मालिकबीच सम्बन्ध तलमाथि हुँदा श्रम बजार प्रभावित हुने गरेको छ । संगठित रुपमा रहेका मजदुरका लागि विभिन्न संगठनले आन्दोलन गर्दै आएका छन् । तर कृषि, दैनिक ज्यालादारीका कामलगायतमा रहेका असंगठित मजदुरका हकमा केही काम हुन नसकेको गुनासो व्याप्त छ ।

केही वर्ष अघिसम्म मजदुर आन्दोलनका कारण औद्योगिक क्षेत्र निकै प्रभावित भएको थियो । पछिल्लो समय भने यस्ता आन्दोलन नगण्य रुपमा हुने गरेका छन् । सामान्य माग पुरा गराउन उद्योग कारखानामा बन्द गर्ने अनि हडतालमा उत्रने होडबाजी नै चल्थ्यो । मजदुर संगठन र ट्रेड युनियनहरु एकपछि अर्को आन्दोलन सञ्चालन गर्न अग्रसर हुन्थे । तर अचेल यस्तो छैन ।

दुई वर्षयता सुनसरी मोरङ औद्योगिक कोरिडोरमा मजदुर यस्तो आन्दोलन भएको छैन । मजदुर आन्दोलनकै कारण कुनै पनि उद्योग बन्द भएका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनास वोहरा पछिल्लो समय मजदुरहरुकै आन्दोलनका कारण उद्योग बन्द गर्नुपर्ने नरहेको बताउँछन् ।

पछिल्लोपटक सरकारले मजदुरका लागि मासिक तलब ९ हजार ७ सय, दैनिक ज्याला ३ सय ९५ रुपैयाँ पारिश्रमिक तोकेको छ । तर कोरिडोरका २५ प्रतिशत भन्दा वढि उद्योगले न्युनतम समेत नदिएको गुनासो छ । सरकारी तथ्यांक अनुसार मुलुकभरका करिब ९ हजार उद्योग र प्रतिष्ठानहरुमा ३ लाखभन्दा बढी श्रमिक कार्यरत छन् ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोर र आसपास करिब ५ सय उद्योगहरु छन् । यी उद्योगहरुमा एक लाखको हाराहारीमा मजदुर रहेको तथ्यांक छ । खासगरी जुट उद्योगहरुमा महिलाको उल्लेख्य संख्या छ ।

प्रकाशित : वैशाख १८, २०७४ १४:००

प्रतिक्रिया
पठाउनुहोस्