१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गाउँ खटिए कर्मचारी [तस्बिरहरु]

शब्द/तस्बिर : आश गुरुङ

लमजुङ — वैशाख ३१ गतेको स्थानीय तह चुनावका लागि मतदान अधिकृतसहितको टोली गाउँ खटिएका छन् । उनीहरुलाई सुरक्षाकर्मीसहित गाउँ पठाइएको छ । मुख्य निर्वाचन कार्यालयबाट नियुक्तिपत्र, मतपत्र र पेस्की रकम लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने ६४ प्रकारका सामग्री लिएर कर्मचारी गाउँ खटिएका हुन् ।

टाढा जानुपर्ने कर्मचारी बुधबार बिहानै गएका छन् भने अन्य कर्मचारी जाने क्रम चलेको छ । ‘हामी मतदान केन्द्र हिँड्यौं । स्वच्छ एवं निष्पक्षरुपमा मतदान कार्य सम्पन्न गराउने हाम्रो अभिभारा हो’पसगाउँ ठाँटी मावि केन्द्रका लागि खटिएका मतदान अधिकृत शिव रेग्मीले भने । त्रिभुवन मावि भुजुङ केन्द्र ‘ख’ का मतदान अधिकृत राजेश्वर सिलवालले गाउँमा गएर मतदाता शिक्षा दिने र परिचयपत्र समेत वितरण गर्ने जिम्मेवारीका साथ हिँडिएको बताए ।

मुख्य निर्वाचन कार्यालयका अनुसार ९ सय बढी कर्मचारी मतदान कार्य सम्पन्न गराउन खटिएका छन् । जिल्लाका १ सय ५५ मतदान केन्द्रमा उत्तिकै मात्रामा मतदान अधिकृत, सहायक मतदान अधिकृत साथै २/२ जना सहायक कर्मचारी गरी २ सय ८० बढी कर्मचारी खटिएका छन् । यस्तै, ५ सय बढी मतदाता रहेको केन्द्रमा दुईजना कार्यालय सहयोगी कर्मचारी र ५ सयभन्दा कम मतदाता रहेको ठाउँमा १ जना कार्यालय सहयोगी कर्मचारी खटिएका छन् । मतदान अधिकृतमा १४ जना जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ति र ३४ जना मावि द्वितीय र तृतीय तहका शिक्षक समेत रहेका सहायक निर्वाचन अधिकृत भूमिप्रसाद शर्माले बताए । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले चुनावका लागि आवश्यक सवै सुरक्षा प्रवन्ध मिलाइसकेको बताए । 

प्रकाशित : वैशाख २७, २०७४ १६:०८

प्रतिक्रिया
पठाउनुहोस्