१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिशूली किनारमा बालुवा झिक्नेहरु... [फोटोफिचर]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

धादिङ — सिंहदरबारको अधिकार गाउँसम्म नारा दिइएको स्थानीय तह निर्वाचनमा मतदान गरेकाहरु यतिखेर त्रिशूलीमा बालुवा मजदूर भएका छन् । निर्वाचनलगत्तै खेतीपाती सकेर त्रिशूलीको बालुवा झिक्ने मजदूरीमा राम्रो कमाई देखेका एक दर्जन जिल्लाका युवाहरु त्रिशूली किनारका टहराहरुमा डेरा लिएर दिनभर त्रिशूली नदीमै रमाउँछन् ।

स्थानीय निर्वाचनताका गाउँबस्तीमै देखिने प्रचार सामाग्रीमध्ये राजनैतिक दलहरुले दिएका टि-सर्टहरु पनि लगाएकै छन् । निर्वाचनमा फरक फरक पार्टीमा मतदान गरेका युवाहरु आ-आफ्ना पार्टीका चिन्ह अंकित टिसर्ट लगाइमध्ये असारको उर्लंदो त्रिशूलीको भेलमा पसेका छन् । अब चुनावी चिन्हको वास्ता छैन । निर्वाचनका टिसर्ट विपन्न मजदूरहलाई एकसरो लुगा भएको छ । 

भेलले ल्याएर थुपारेको बालुवा झिक्न ज्यानकै पर्वाह नगरी त्रिशूलीमा परेर ६० जनामध्ये कतिपयले टाउको मात्र देखाएका र कतिपयले बालुवा ओसार्न थुन्से बोकेर छेउमै उभिएका । सबै निथ्रुकै भिजेका । सबैलाई हतारो जति सक्यो छिटो एक टिप्पर बालुवा भर्न सक्यो त्यति फाइदा । एक टिप्पर बालुवा झिकेर टिप्पर भरे बापत ७ हजारसम्म कमाई । ३ जनाले ३ घण्टामा एक टिप्पर बालुवा भर्न सबैलाई धपेडी हुन्छ । कोही कसैसँग बोल्ने फुर्सदसम्म छैन । त्रिशूली नदीमा बालुवा, गिट्टी र ढुङ्गा झिक्न उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको यो जिल्लामा मजदुरहरु प्रयोग गरी नदीजन्य उत्खनन् भने स्थानीय निकायले रोक लगाएको छैन ।

‘बिहानैदेखि बालुवा झिक्न थाल्ने हो भने एउटा हरेक मजदूरले दैनिक ३ देखि ५ हजारसम्म कमाई गर्छ । त्रिशूलीमा जति ठूलो बाढी आयो त्यति नै बढी बालुवा झिक्न पाइन्छ’साविकको कल्लैरी गाविसको केउरेनीटारका युवा मनिष तामाङले भने । वर्षामा त्रिशूलीले ल्याएको बालुवा फिरफिरेमा धुनु पर्दैन । बालुवा झिक्ने मजदुर धादिङका मात्रै छैनन् । बाँके, बर्दिया, दाङ, कैलाली, रोल्पा, रुकुम, सल्यान र पुर्वका मकवानपुर, भोजपुर, संखुवासभा, रामेछाप, दोलखाका युवाहरु छन् । 

  प्रकाशित : असार २५, २०७४ १२:०७

प्रतिक्रिया
पठाउनुहोस्