३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

साउने पहिलो सोमबार: देवघाटमा घुइँचो

शब्द/तस्बिर : विमल खतिवडा/शिव पुरी

चितवन — पवित्र तिर्थस्थल तनहुँको देवघाटधाममा साउनको पहिलो सोमबार बिहानैबाट भक्तजनको भीड लागेको छ । टाढाटाढादेखि भक्तजन जम्मा भएका छन् । कोही बेणीसंगममा जम्मा भएर स्नान गर्न व्यस्त भएको देखिन्छ त कोही शिवलिंगमा पुजा गर्दै गरेको अवस्थामा भेटिए ।

अघिल्लो वर्षहरुको तुलनामा भीड केही कम देखिन्थ्यो । नदी किनारमा पहेंलो गेरुबस्त्रमा सजिएर आउने युवायुवतीको कमी थिएन । नदी छेउमा सेल्फी खिच्न आपसमा प्रतिस्पर्धा नै चलेको देखिन्थ्यो । महिलाहरु मेहन्दी र चुरामा सजिएर पूजा गर्न पुगेका थिए ।

‘त्यति भिड छैन ,ठिकै छ । पहिलो दिन भएकाले हुन सक्छ,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने,‘ पानीको बहाव बढेको छ, दुर्घटना भएमा सुरक्षा निकाय, क्षेत्र विकास समिति र बोटे सहितको काठको डुंगा उद्दारकालागि तैनाथ रुपमा राखेका छौं ।’ तनहुँको त्रिशुली र कालीगण्डकी संगस्थल बेणीमा बढी भीड छ । चितवन खण्डमा समेत भक्तजनको उपस्थिति बाक्लो छ । आँपटारीदेखि देवघाटसम्म पुग्ने बाटोमा भीड कम भएकाले दुईतर्फी यातायात चल्न दिइएको छ ।

नारायणगढ–मुग्लिन सडक हुँदै आउने भक्तजनको संख्या भने कम छ । भक्तजन लाईन लागेर पुजा गर्न बसेका थिए । कतै भजन घन्काईएको थियो भने कतै भक्तजन ताँती लागेर देवघाटतिर जाँदै गरेको देखिन्थ्यो । साउन महिनाभर देवघाटमा भक्तजनको भीड लाग्ने गर्छ ।

प्रकाशित : श्रावण २, २०७४ ११:२०

प्रतिक्रिया
पठाउनुहोस्