१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राजमार्गको यो बिजोग हेर्नुहोस् (फोटो र भिडियो)

अन्य जिल्लासँग जोडिने एक मात्र सडक अवरुद्ध हुँदा बझाङमा अभाव सुरु
तिब्बतसँगै जोडिने राजमार्गको बेहाल

बझाङ — बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक माध्यम जयपृथ्वी राजमार्ग अवरुद्ध भएको आज ९ दिन पुगिसक्यो । यद्यपि तत्काल राजमार्ग खुल्ने कुनै छाँटकाँट देखिदैन ।

गत हप्ताको आइतबार साँझ तमैलको माल्लापड भन्ने ठाउँमा पहिरोले सडक बगाएपछि यो सडक बन्द भएको हो । यसबाहेक मटेलाको बगडगाँउ, तमैलको जालेबगर, भैरबनाथको सेकु, रायलको देउरा, नारुगाड र बाँझको बागथलालगायत ठाउँमा पनि दैनिकजसो सडक अवरुद्ध हुने र खुल्ने क्रम चलिरहेको छ । कतिपय स्थानमा पैदल हिड्दा पनि जोखिम हुने गरी सडक बिग्रेको छ ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा जिल्लामा औषधी, खाद्यान्न, तरकारी, फलफूललगायत दैनिक उपभोग्य सामानको अभाव सुरु भएको छ । जिल्लामा उपचार सम्भव नभएर बाहिर रिफर गरिएका बिरामीहरुले समयमा नै यातायातको साधन नपाउँदा ज्यानको जोखिम मोल्नु पर्ने अवस्था छ ।

बाटो बन्द भएको बहानामा व्यापारीहरुले प्रत्येक सामानको मूल्य अप्रत्यासित बृद्धि गरेका छन् । असार २५ गतेसम्म प्रतिकिलो १ सय पर्ने आँपको मूल्य बृद्धि भएर एकै हप्तामा २ सय पुगेको छ । यो मुल्यबृद्धीको सानो उदाहरण मात्र हो । औषधी, दाल, चामल, तेल, तरकारी, मासु आदी सबैको मूल्यमा अस्वभाविक बृद्धि भएको छ ।

बझाङदेखि ८ घण्टाको गाडीको यात्रामा सजिलै धनगढीसम्म पुग्न सकिन्थ्यो तर अहिले सडक बिग्रिएका कारण तीन दिनसम्म लाग्ने यातायात व्यवसायी बताउँछन् । यो बीचमा यात्रुले पाउने सास्तीको बयान गरी साध्य छैन् ।

ठाउँठाउँमा भएको सडक अवरोधलाई पैदल हिडेर छिचोल्दै र गाडी परिर्वतन गर्दै धनगढी पुगेका जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजेसकुमार केसी भन्छन । ‘४ वटा गाडी परिवर्तन गरी बल्ल धनगढी पुगियो । धेरै ठाउँमा हिड्नु पर्छ । सामानहरु धेरै भएका, बिरामी र बृद्ध यात्रुको बेजोग छ’, बाटोमा खाना, पानीको पनि समस्या हुने गरेको बताउँदै उनले विभिन्न ठाउँमा भएको अवरोध पन्छाएपछि आफू चढेको पहिलो गाडी तीन दिनपछि मात्र धनगढी पुग्न सक्ने उनले बताए ।

चीनको तिब्बतसँग जोडिदै गरेको यो सडक अन्र्तराष्ट्रिय राजमार्ग पनि हो । सडकको हालत र यात्रुले पाउने दुख हेर्दा यसलाई राजमार्ग भन्न पनि लाज लाग्ने गरेको धेरै यात्रुको प्रतिक्रिया छ ।

प्रत्येक बर्खामा सडक अवरुद्ध हुने २ वटा कारण छन । एक कमजोर भौगर्भिक अवस्था र भिरालो भुगोलका कारण जाने पहिरो । अर्को राजमार्गसँगै समानान्तर ढंगले निमार्ण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुङ्गा माटो । पछिल्ला ३ वर्षमा पहिरोका कारण भन्दा पनि शाखा सडकबाट आएको माटो र ढुङ्गा थुप्रिएर बढी जसो सडक विग्रने गरेको डिभिजन सडक कार्यालयको भनाई छ । प्रकाशित : श्रावण २, २०७४ १३:१०

प्रतिक्रिया
पठाउनुहोस्