कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लोभलाग्दो लोमन्थाङ

आरके अदीप्त गिरी

तिब्बतको मौलिक संस्कृति कतै जीवन्त छ भने त्यो नेपालको उपल्लो मुस्ताङको लोमन्थाङमा छ ।’ दलाइ लामाले बारम्बार बोल्ने वाणी हो यो । तिब्बतको संस्कृति लोपोन्मुख हुँदै गएकोप्रति उनी चिन्ता प्रकट गरिरहन्छन् ।

तर, त्यही मौलिक संस्कृति नेपालको उपल्लो मुस्ताङमा जीवित छ भन्दा हामी धेरैलाई आश्चर्य लाग्नु स्वाभाविकै हो । माथिको कथनले पुष्टि गर्छ— चुलोचौकादेखि यहाँको भाषा–संस्कृति सबै तिब्बती संस्कृतिसँग मेल खान्छ । 

खाम्से, साम्सेर, ढोचा र उनीका टोपी लगाएका पुरुषहरू । जो भेडा, च्याङ्ग्रा, घोडा तथा चौंरीका बथानसँग लुकामारी गर्दै हिँडिरहेका देखिन्छन् । बख्खु, होङ्जु, पाङदेन, किटी र मुगाको मालामा सुसज्जित महिलाहरू । जो आफ्ना घर–आँगन तथा खेत–खलियानमा व्यस्त देखिन्छन् । यहाँको वेशभूषा र चालचलनले विशेष सौन्दर्य झल्काइरहेको हुन्छ । यहाँको आफ्नैखाले परम्परित जीवनशैलीले मौलिक सुगन्ध छरिरहेको हुन्छ ।


कंक्रिटको सहरबाट पहिलोचोटि जानेहरूलाई माटोको सहरजस्तो लाग्छ लोमन्थाङ । किनभने यहाँ माटोले नै ढलान गरेका मौलिक घरहरू छन् । त्यसमाथि सजाइएका दाउराका खलियानहरूले विछट्टै सौन्दर्य थपिदिएको छ । माटैमाटाका घरहरूको सहरका रूपमा विश्वले चिन्दै आएको छ, लोमन्थाङलाई । र त ‘मड सिटी’ को उपमा पाएको लोमन्थाङ साँच्चिकै लोभलाग्दो छ ।


ठूलठूला गुफाहरू । गुफैगुफा कोरिएर सिंगो पहाड नै एउटा विशाल दरबारजस्तो लाग्ने । अनि ती गुफा र ओडारभित्र भेटिने प्राचीन ऐतिहासिक चित्र एवं मूर्तिकला । यिनै दृश्यहरूले यहाँ जोकोहीको मन लोभ्याउँछ । लोमन्थाङका खास विशेषता र आकर्षण पनि यिनै कलाकौशल, वेशभूषा र संस्कृति हुन् । बौद्धमार्गीका अति पुराना संस्कार यहाँ जीवित छन् । मुस्ताङमा बौद्ध धर्मको विस्तार हुनुभन्दा पहिलेदेखि नै ती ओडार र गुफाभित्र चित्रकला र मूर्तिकलाको विकास भएको इतिहासविद्हरू बताउँछन् । 


विश्वका प्रमुखमध्येको एक ट्राभल गाइडबुक ‘लोन्ली प्लानेट’ ले हरेक वर्ष घुम्नैपर्ने ‘टप टेन’ सहरमध्ये लोमन्थाङलाई पनि आफ्नो गाइड बुकमा माइनेट गरिरहन्छ । यसले पनि लोमन्थाङ पर्यटकका लागि कति चर्चित र आकर्षणको केन्द्र रहेछ भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।


***
जाडोको बेला हिउँको श्वेत पछ्यौरी ओढेर नौला यात्रीलाई जिक्याइदिन्छ यो सहर । अरू बेला नाङ्गा र फुस्रा पहाडी भू–दृश्यको क्यानभासमा सजिएको देखिन्छ । यहाँको सुक्खा मरुभूमिमय भू–बनोट अर्को खास विशेषता हो । उसो त चौरीका बथान चर्ने मैदानीे घाँसेलेक र नामै दिन नसकिएका हिमतालहरू पनि यहाँ प्रशस्तै छन् । जसको आवश्यक व्यवस्थापन, पहिचान र संरक्षण हुन बाँकी देखिन्छ ।

हिउँद (कात्तिक–फागुन) भरि यहाँको हावापानी मौसम जनजीवनका लागि प्रतिकूल हुन्छ । यस समयमा यहाँका मानिस खुला व्यापारका लागि बेँसी अथवा काठमाडौँ, पोखरा, भैरहवाजस्ता ठूला सहरतिर झर्ने गर्छन् । ग्रीष्म याम र वर्षात्को बेलाचाहिँ यहाँ रौनक सुरु हुन्छ । घुम्नका लागि उपयुक्त मौसम पनि वर्षातको सिजन नै हो ।

कृषि र पशुपालन यहाँको मुख्य पेसा हो । प्रशस्त स्याउ फल्ने पाखोका रूपमा पनि चिनिन्छ मुस्ताङ । यहाँको स्याउले छुट्टै स्वाद र गुणस्तरकै कारण स्वदेश तथा विदेशमा प्रसिद्धि पाएको छ । स्याउको ताजा स्वाद लिँदै प्राकृतिक परिवेशमा याक, चौंरी, भेडा–च्याङ्ग्राका बथानसँग रमाएर दिन बिताउनु पनि आगन्तुकका लागि अविस्मरणीय क्षण बन्न पुग्छ ।

यहाँको बस्ती मौरीको चाकाजस्तो गुजुमुज्ज पारी बनाइएको देखिन्छ । आदिमकालका गढी र किल्लाहरूको झझल्को दिने खालको कलात्मक बस्ती छ । त्यही भएर पनि यहाँ आउने जोकोही नयाँ र ताजा अनुभव सँगाल्दै फर्किन्छन् । यहाँका बासिन्दाको अतिथिप्रतिको सद्भाव र आत्मीयताले पनि पर्यटकलाई लोभ्याइरहन्छ ।


यहाँ मनाइने तिजी पर्व र मार्तुङ ल्होसार विश्वमा नै प्रख्यात छन् । यी पर्वलाई लक्षित गरेर पनि सयाँै पर्यटकहरू लोमन्थाङ भित्रिन्छन् । संसारकै छानोका रूपमा चिनिएको तिब्बती पठारको भन्दा पनि अग्लो विस्तारित भूभाग लोमन्थाङ पनि हो । उच्च भूभागीय पदयात्राका लागि समेत लोमन्थाङ संसारमै अतिविशिष्ट गन्तव्य बनेको छ । 
***
ढुंगा र माटोले बनेको अग्लो पर्खालले लोमन्थाङलाई घेरेको छ । लोमन्थाङ दरबारलगायत यसभित्रको बस्तीको सुरक्षाकवच भन्नु नै यही पर्खाल हो । पर्खालभित्र शान्त र एकलासमय देखिन्छ लोमन्थाङ सहर । जहाँ अहिले पनि बेग्लै शासन व्यवस्था र प्रथा विद्यमान छ । मुलुकभर लागू भइसकेको गणतान्त्रिक व्यवस्थाले कत्ति पनि प्रभावित पारेको देखिन्न, यहाँको मौलिक शासन व्यवस्थालाई । 
हिजोको मुस्ताङी राजसंस्थाको विरासत बोकेको लोमन्थाङ दरबार अहिले सुनसानजस्तै छ । यहाँका नि:सन्तान राजा जिग्मे परबल विष्ट अघिल्लो वर्ष दिवङ्गत भएसँगै विष्ट वंशको शासन समाप्त भएको छ । विष्ट वंशका २२ औँ पुस्ताका २४ राजाले यहाँ शासन गरेको बताइन्छ । आफ्नो न्यायको संरक्षक विष्ट राजवंश ढलेकोमा उपल्लो मुस्ताङवासी अहिले धेरै दु:खी र निराश छन् । यहाँका मुख्य बासिन्दामा भोटे, गुरुङ, विष्ट र ठकुरी हुन् ।


लोमन्थाङ आफैँमा एउटा खुला संग्राहलय हो । सात सय वर्ष पुरानो मानिने लोमन्थाङ दरबार कलाकृतिको एक उच्चतम नमुना पनि हो । यससँगैका अन्य भौतिक संरचना र कलाकृतिहरू पनि उति नै वर्ष पुराना मानिन्छन् । पर्खालभित्र २ सय घर छन् । सँगै ठूल्ठूला गुम्बा, मानेवाल र छोर्तेनहरू । विविध सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक सम्पदाले भरिपूर्ण छ लोमन्थाङ । यस सहरलाई हाल पुरातत्त्व विभागले विश्व सम्पदा सूचीमा राख्न अध्ययन गरिरहेको छ ।
***
‘निषेधित सहर’ को उपमा पाएको लोमन्थाङ ३८ सय मिटर उचाइमा अवस्थित छ । हाल यो अर्धनिषेधित क्षेत्रजस्तो छ । सरकारले सन् १९९१ मा विदेशी पर्यटकका लागि आंशिक खुला गरेको थियो । त्यसपछि सन् १९९२ देखि विदेशीले यहाँ पाइला टेक्न थालेका हुन् । लोमन्थाङ साथै उपल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकले ५ सय डलर प्रवेश शुल्क तिर्नुपर्ने प्रावधान छ । पर्यटकीय सिजनमा यहाँका चोक तथा गल्लीहरू पर्यटकले भरिभराउ हुन्छन् । लोमन्थाङबाट तिब्बतको कोराला नाका १२ किमिको दूरीमा अवस्थित छ ।

हिमालपारिको सहर भएकाले लोमन्थाङ पुग्न लामै यात्रा गर्नुपर्छ । सडक यातायातमा जानेका लागि पोखराबाट पर्वत कुस्मा, म्याग्दी बेनी हुँदै जोमसोम पुग्न सकिन्छ । त्यहाँबाट फेरि कागबेनी, चैले, समर, चराङ र भेना हुँदै पुग्न सकिन्छ, लोमन्थाङ । हवाई यातायातमा जानेका लागि पोखराबाट जोमसोम २० मिनेटमै पुग्न सकिन्छ । अहिले ठाउँ–ठाउँमा जिप चढेर जोमसोमदेखि लोमन्थाङ दुई दिनमा पुग्न सकिन्छ । जोमसोमदेखि पैदलयात्रा गर्ने हो भनेचाहिँ कम्तीमा पनि चार दिनको समय छुटयाउनैपर्ने हुन्छ । एक फरक यात्राको अनुभूति सँगाल्न तपाईं पनि पुग्ने हो कि लोमन्थाङ ?

  प्रकाशित : श्रावण २१, २०७४ १५:१३

प्रतिक्रिया
पठाउनुहोस्