कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बाढीपछि खोला किनारको जीवन

शब्द/तस्विर: जितेन्द्र साह

विराटनगर — बाढीको छैंठो दिन बिहीबार विराटनगर महानगरपालिकाको चर्चित सिंघिया खोला किनार पुग्दा जताततै ह्दयविदारक दृश्यहरु मात्र देखिए ।

खोला छेउतिर कुनै पक्की घर लडिरहेका थिए । कुनैको भग्नावशेष बाहेक सबै संरचना बगिसकेको देखिन्थ्यो । कतै आँगनमा तुलसीका मठ त बाँकी थिए तर घर चाँही थिएन । घरजग्गा एवं गुमाएको धनमालको पीडा सहन नसकि बाढी पीडितहरु बिलौना गरिरहेका भेटिन्थे । सबथोक गुमाएका केही घरबेटी खोला किनारमा शोक मग्न मुद्रामा बसिरहेका थिए ।

पक्की बाँधदेखि नीकै माथि र पर रहेको घरसम्म पानी आइपुग्ला भन्ने कहिल्यै कल्पना नगरेको स्थानीयहरुले बताएका छन् । बाढी अघिसम्म गुलजार खोला किनारको सुन्दरवस्तीको अस्तित्व नै मेटिएको महसुस भयो । केही दिन अघिसम्म आफ्नै घरमा बसिरहेकाहरु अहिले शरणार्थी झैं भएका छन् ।

नियमित रुपमा त्यहाँ पुग्नेलाई पनि अर्कै थलोमा आइपुगेको जस्तो भान हुन्छ । बाँधलाई समेत नाघ्दै आकस्मात आएको बाढीमा धेरैले धनमाल समेत जोगाउन सकेका थिएनन् । बाढीले नबगाएपनि केहीको घर बस्न मिल्नै नसक्ने गरी नष्ट भइसकेको छ । स्थानीयको घरमा प्रवेश गर्नै नसक्नेगरी हिलो एवं फोहोर छन् ।

बसोबासको विकल्प नहुँदा उनीहरु त्यही घरकै सरसफाइ गरिरहेका छन् । चापाकलबाट हिलो मिश्रित रातो पानी आइरहेको हुनाले यहाँ पिउने पानीको निकै अभाव छ । बचेखुचेका सामग्रीलाई घाममा सुकानमा व्यस्त उनीहरु सरकारबाट अस्थायी शौचालयको प्रबन्ध, त्रिपाल, खाद्यान र मनग्यै पिउने पानीजस्ता जीवन उपयोगी राहत सामग्रीको अपेक्षा गरिरहेका छन् ।

दैनिक विभिन्न निकायका प्रतिनिधि हेर्न र तस्बिर खिच्न आएपनि अहिलेसम्म एउटा त्रिपाल समेत नपाएको हरेक पीडितको गुनासो छ । स्वच्छ भोजन, शुद्ध पानी एवं शौचालयको अभावमा भटाभटी बालबालिकाहरु विरामी परिरहेको स्थानीयले बताइरहेका छन् ।

केही स्थानीय समाजसेवी, दाता, सहयोगी युवा वर्ग एवं राजनीतिकर्मीले उनीहरुका लागि बाढी गएको दिनदेखि अहिलेसम्म भोजन एवं पानीको बन्दोबस्ती मिलाइरहेका छन् । यति सहयोगले गर्दा पनि सबै पीडा बिर्सेर दैनिक काममा जान सकिरहेको बाढीपीडितहरुले बताए ।

अति महत्वपूर्ण धार्मिक अनुष्ठानदेखि मृत्यु संस्कारसम्ममा स्थानीयका लागि निकै महत्वपूर्ण यो खोलाले विराटनगरलाई मोरंगको दक्षिणपूर्वी भेकसँग जोड्छ । तर भिष्ण वर्षापछि यो खोलामा बढेको जलस्तरले जनजीवन ठप्प हुनेगरी सर्वत्र त्राही मचायो ।

धेरैले भन्लान्, थाहा हुँदाहुँदै उनीहरु खोला किनारमै किन बस्छन् ? वास्तवमा ठूलो संख्यामा यो सहरमा भित्रिने निम्न मध्यम वर्गीय समुदाय एवं श्रमिक वर्गका लागि यो खोला छेउको सस्तो बसाइ रोज्नु बाध्यता हो ।

यहाँ दैनिक ज्यालादारी गरी बस्ने सुकुम्बासी मात्र बस्दैनन् । नम्बरी जग्गा किनेर घर पसल चलाउने, रिक्सा/सफारी चलाउने, खेतीपाति गर्ने, कुखुरा तथा बंगुर पालन गर्ने एवं शान्त जीवन मन पराउने विभिन्न पेसाका व्यक्ति समेत बस्छन् । अधिकांसले यो खोलादेखि निकै टाढा स्थायी वा अस्थायी बास बनाएर बसेका छन् । तर विस्थापित पार्नेगरी यति ठूलो बाढी आउलान भनी कसैले अनुमान गरेका थिएनन् । यो जल प्रलयले चाँहि स्थानीयलाई सुरक्षित वासप्रति सोच्न भने बाध्य गराएको छ ।

प्रकाशित : भाद्र १, २०७४ १९:२७

प्रतिक्रिया
पठाउनुहोस्