कहाँ लुकाइएको थियो ८८ किलो सुन?

तस्बिर : अंगद ढकाल

काठमाडौं — महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् ।

महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् ।

महाशाखाले आज पत्रकारसम्मेलन गरी काठमाडौँ महानगरपालिका–१७ मा पार्किङ गरेर राखेको अवस्थामा गाडीसहित अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चालक बस्ने पछिल्लो सिट पछिको गाडीको अधिकांश भागमा सुन लुकाइएको देखिन्छ । गाडीको बडीको खोक्रो भागमा फोमभीत्र सुन राखेर फरक फरक ठाउँमा लुकाइएको देखिन्छ । राति नै गाडीलाई अपराध महाशाखा ल्याइएको थियो ।पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले रसुवाको केरुङ नाका हुँदै उक्त सुन काठमाडौँ भित्रिएको अनुसन्धानमा खुल्न आएको बताए । 'सुन कताबाट कता लैजान काठमाडौँ ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ,' प्रमुख लोहनीले भने ।

उनले केरुङ नाकाबाट भित्रिएको सुनमा चीनीया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको बताए ।

प्रमुख लोहनीले केही दिन अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको २२ किलो सुन कारोबारीसँग अहिलेको सुनको कारोबारीको सम्बन्ध छ वा छैन भन्ने बारेमा महाशाखाले अनुसन्धान गरिरहेको स्पष्ट पारे । 'सुन तस्करीमा एक/दुई जनामात्र नभई ठूलो समूह रहेको छ, उनीहरुको चाँडै खोजी गछौँ,' लोहनीले भने ।

महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा गएको टोलीले उक्त सुन बरामद गरेको हो ।

यसभन्दा पहिला ठूलो परिणाममा एक साता पहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २२ किलो र गत वर्षको माघमा ३३ किलो बरामद गरेको थियो । रासस

प्रकाशित : भाद्र १९, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्

हम्मरले हानेर साथीको हत्या

अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका-३ मा बर्दियाका ३० वर्षीय बिशाल चौधरीको हत्या भएको छ । हेलम्बु गाउँपालिकास्थित जय बागेश्वरी माध्यमिक विद्यालयमा सोही जिल्लाकै १८ वर्षीय सुजन चौधरीले सामान्य विवादमा फलामे हम्मरले हानेर बिशालको हत्या गरेका हुन् ।

उक्त विद्यालयको निर्माण कार्यमा सुरुको दिनदेखि बर्दियाका दुवै कामदार एकैसाथ खटिएका थिए । आइतबार बेलुका दुवैले मार्दक पदार्थ सेवन गरिरहेको अवस्थामा सामान्य विवाद मच्चिएपछि सुजनले बिशालमाथि फलामे हम्मर प्रहार गरेका थिए ।

हत्याका आरोपी सुजनलाई तत्कालै नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी मेलम्चीले जनाएको छ ।

‘शवलाई पोस्टमार्टमको लागि मेलम्ची ल्याइसकेका छौं,’ मेलम्चीका प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगानाले भने, ‘आरोपीलाई अनुसन्धानको दायरामा राखेर प्रारम्भिक प्रक्रिया थालिसकेका छौं ।’

प्रकाशित : भाद्र १९, २०७४ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्