आजदेखि सोह्रश्राद्ध सुरु

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं — आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।

प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

उनले भने सोह्रश्राद्ध पितृ तृप्तीका लागि पूण्यतम् पर्व हो, यो पक्षमा सबै पितृले आश गर्ने भएकाले सक्नेले १६ दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म, त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म र त्यो पनि नसक्नेले पिताको मृत्यु भएको तिथिमा आस्था निष्ठापूर्वक श्रद्धा गर्नुपर्छ ।

आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारे औँसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

गाई तिहारे आँैसीका दिन पनि थुनछेक हुनेले वृश्चिक राशिमा सूर्य जानुअघि अर्थात कार्तिक मसान्तभित्र जराएर सोह्रश्राद्ध गर्नुपर्छ । यो अवधिमा पनि श्राद्ध नगरे आश गरेका पितृ निराश भएर आफ्नो स्थानमा फकर्ने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको डा गौतमले बताए ।

बाबुको तिथिमा एक दिन मात्र सोह्रश्राद्ध गर्नेले चतुर्दशी र मगान क्षेत्र परेका दिन श्राद्ध गर्नु हुँदैन । बुधबार प्रतिपदा तिथिमा श्रद्धा गरिँदैछ ।

रासस

प्रकाशित : भाद्र २१, २०७४ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

लाइभ अपडेट: प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता जारी

कान्तिपुर संवाददाता

काठमाडौं — प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता जारी छ । प्रदेश २ का आठ जिल्लाभित्रका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन भने असोज २ गते हुँदैछ ।

प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता जारी छ ।

प्रदेश २ का आठ जिल्लाभित्रका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन भने असोज २ गते हुँदैछ । ती सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमले ती सबै तहमा आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।

यसअघि, पहिलो चरणमा वैशाख ३१ मा प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ र दोस्रो चरणमा असार १४ गते प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित भई जिम्मेवारी सम्हालिसकेका छन् ।

सहिद परिवारबाट स्वतन्त्र उम्मेदवारी
सप्तरी संवाददाता अवधेशकुमार झाका अनुसार हनुमानगर कंकालिनी नगरपालिकाको वडा सदस्य पदका लागि सहिद परिवारका सदस्यले उम्मेदवारी दिएका छन् । दुई वर्षअघि सप्तरीको भारदहमा प्रहरीको गोली लागेर मृत्युवरण गरेका रामकृष्ण राउतका भाइ धर्मपाल राउतले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मधेसवादी दलले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जनकपुरमा सबै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । राप्रपा र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरिसकेका छन् । अन्य ठूला दललाई पालैपालो उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

चन्द्रपुरमा एमालेका २ उम्मेदवार

स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रिया अन्तर्गत प्रदेश नं २ मा बुधबार मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रिया अपरान्ह ५ बजेसम्म सञ्चालन रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरले जनाएको छ ।

कार्यालयले संवाददाता पवन यादवलाई दिएको जानकारी अनुसार, बिहान १० देखि १२ बजेसम्म स्वतन्त्र उम्मेदवार तथा समय न तोकिएका मधेसी दलका अधिकारिक उम्मेदवार, मध्यान्ह १२ देखि अढाई बजेसम्म माओवादी केन्द्र, अढाईदेखी ४ बजेसम्म कांगेस, ४ देखि ५ बजेसम्म एमाले र तोकिएको समय सीमा भित्र कार्यालय प्रवेश गरिसकेका सबै उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय सीमा निर्धारण गरिएको छ ।

तोकिएको समय सीमा अनुसार अहिले जिल्लाका १८ स्थानमा खोलिएको निर्वाचन अधिकृतको कार्यालययमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख सहित वडाध्यक्ष, सदस्य पदको लागी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन ।

यहाका सबै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन आउनेको लाम लागेको छ । मनोनयन दर्ता गराउने क्रममा अप्रिय घटना हुन नदिन तथा निर्वाचन अधिकृत कार्यालयको सुराक्षार्थ ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय वरिपरि तथा अगाडिको सडकमा खटिएका सुरक्षाकर्मीले चेकजाच कडा बनाएका छन । उम्मेदवार र निर्वाचनसंग सम्बन्धित कर्मचारी, संचारकर्मी बाहेकका मानिसलाई आवतजावत गर्न नदिन समेत कडाई गरिएको छ ।

चन्द्रपुर नगरपालिकाको एमाले उम्मेदवारीमा विवाद चन्द्रपुर नगरपालिकाको मेयर पदको लागी एमालेको आधिकारिक उम्मेदवार आफु भएको दाबी गर्दै २ नेता अग्रसर भएका छन ।

निर्वाचन कार्यालयले मनोनयन प्रक्रिया दर्ता सुरु गरेको केही बेरमै सबै भन्दा अगाडि एमालेको आफु आधिकारिक उम्मेदवार भएको दाबी गर्दै पार्टीका टिकट वितरण समितीको संयोजक सत्यनारायण मण्डलले सिफारिस गरेको पत्र सहित मनोनयन दर्ता गराउन उद्धव प्रसाद रेग्मी पुगेका छन ।

‘केन्द्र आयोग जहाबाट सोधे हुन्छ,’ उनले भने, ‘म नै पार्टीको आधिकारिक उम्मेदवार हुँ ।’ अरुको बारेमा केही जान्दिन । केन्द्रिय अध्यक्ष तथा निर्वाचन आयोगले समेत मलाई नै आधिकारिक उम्मेदवार मानेको उनले दाबी गरे ।

अर्को तिर एमालेकै अर्का नेता बाबुराम दाहालले एमालेको पार्टीको आधिकारिक सिफारिस सहित तोकिएको समयमा मनोनयनपत्र दर्ता गराउन तयारी थालेका छन् ।
मेयरको लागि पार्टीले आफुलाई आधिकारिक सिफारिस सहित उम्मेदवार बनाएको र त्यही अनुसार उम्मेदवारी दर्ता गराउने तयारीमा जुटेको उनले बताए ।

‘आफु नै एमालेको आधिकारिक उम्मेदवार हुँ,’ उनले भने, ‘रेग्मी आधिकारिक उम्मेदवार होईनन् ।’ कसरी उनले आधिकारिक सिफारिसपत्र पाए आफुलाई कुनै जानकारी नभएको र आफु नै पार्टीको आधिकारिक उम्मेदवार भएको उनले बताए ।

निर्वाचन अधिकृतको कार्यालय चन्द्रपुरका प्रमुख निर्वाचन अधिकृत कमलराज भण्डारीले एमालेको आधिकारिक उम्मेदवारमा विवाद रहेकाले छिनोफानो नहुन्जेलसम्मको लागि रेग्मीले दिएको मनोनयन पत्र दर्ता नगरी राखिएको बताए ।

‘यसको छिनोफानो निर्वाचन आयोगले गर्छ,’ उनले भने, ‘विवाद आएकोले केही समयको लागि दर्ता नगरी राखेका छौं ।’ निर्वाचन आयोगसँग विवाद समाधान गर्न जानकारी गराइएको उनले बताए ।

प्रकाशित : भाद्र २१, २०७४ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्