१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चाडपर्वमै सुनसान छन् गाउँ, बस्तीहरु [फोटोफिचर]

हरिहरसिंह राठौर

जाजरकोट — वैदेशिक रोजगारले युवाहरु विदेसिएपछि दसैंतिहारमा रमझम हुने गाउँबस्ती यसपाला सुनसान छन् । सुर्खेतको छिन्चुदेखि सल्यानको सल्लीबजार हुँदै जाजरकोटसम्म पुगुन्जेल बीचमा पर्ने रमणीय गाउँबस्तीहरु सुनसान छन् । दसैंतिहारमा बज्ने मादल, युवायुवतीले हाल्ने लिङ्गेपिङ, चौरमा उडाइने चङ्गा, रोटेपिङ, मखियाका घरमा नाच्ने मयुर नाच, टप्पा नाच, मारुनी, सोरठी एकादेशका कथा भइसकेका छन् । न त बस्ती घर दसैं अगावै रातो माटोले पोत्ने छोरीबुहारीहरु घरमा छन् ।

‘वैदेशिक रोजगारले छोराहरुलाई विदेशमात्रै पुर्‍याएन बुहारीहरुलाई पनि छोराछोरी बोर्डिङ पढाउने निहुँमा सहरबजारतिरै तानेको छ । छोराछोरी कोही नभएपछि घर रंगीन बनाउने जाँगर पनि चलेन’सल्यान वामे नाम्रागाउँका हिक्मत बुढाले बताए । हुन पनि छिन्चुदेखि जाजरकोट पुग्ने बेलासम्म भेरीनदी किनारमा रहेका सुर्खेतका सुर्मा, घोडेनी, अमारा, राकम, जामुने, सल्यानका नाम्रा, लाहाघाट, राइरा, जाजरकोटको भुरचौर, रावतगाउँ, कुदु, बोहरागाउँ, रुकुमको घाटचौर, थनारा निकै वाक्ला र रमणीय बस्ती हुन् । एकै बस्तीमा एकैखाले एकै रंग सयौं घर यी बस्तीहरुको विशेषता हो । 

नदी किनारमा रहेर विकट मानिएका यी बस्तीहरुको चर्चा र आर्थिक विकास छिन्चु जाजरकोट सडक सञ्चालन भएदेखि हो । सडक विस्तारसँगै सडक वरपर सानातिना वजार विकास त भयो तर अधिकांश युवापुस्ताहरु कमाई गर्न विदेशतिरै लागे । पुस्तौंदेखि छाक टार्न र लत्ता कपडाको जोहो गर्न, छिमेकी देश भारत जाने र लत्ताकपडा लिएर दसैं तिहारमा फर्कने युवाहरुको लय फेरिएको छ । आर्थिक अभावका कारण वैदेशिक रोजगारमा जान नसक्नेहरु को गन्तव्य अझै पनि कालापार(भारत)नै हो । भेरी नदी किनार भए पनि कुनै सिँचाई प्रबन्ध नभएका यी सून्दरबस्तीहरुको प्रमुख आम्दानी भनेकै बाख्रा पालन र दलहनबाली हो । जंगल चराएका यस भेकका खसीको माग र मूल्य काठमाडौंलगायत सहरमा अत्यधिक छ ।

 

जंगल विनासले खानेपानीको चरम समस्या बेहोर्दै आएका यी भेरी किनारका बस्तीहरु बाह्रै महिना भेरी नदीकै पानस्ी प्रयोग गर्छन भने वर्षातका समयमा खानेपानी लिन नदीमा जाँदा हरेक वर्ष स्थानीयवासीहरुले बाढीको चपेटामा परेर मृत्यु हुने गरेको छ । 

  प्रकाशित : आश्विन १०, २०७४ १५:२१

प्रतिक्रिया
पठाउनुहोस्