१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कस्तो पट्यारलाग्दो यात्रा [फोटोफिचर]

हरिहरसिंह राठौर

धादिङ — मंगलबार अपराह्न पशुपति मन्दिर डाँडामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै ५४ जना घाइते भए । गुम्दीबाट क्षमताभन्दा दोब्बर यात्रु बोकेर आएको बा ३ ख ४७८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएपछि गम्भीर घाइते भएका २८ जनालाई थप उपचारार्थ अपराह्न ३ बजे काठमाडौंतर्फ पठाइएको थियो ।

धादिङ सदरमुकामबाट ५८ किमि दूरीको नौबिसे पुगेका घाइते बोकेका एम्बुलेन्स नौबिसेकै जाममा फस्यो । सामान्यतया एम्बलेन्सहरुको साइरन बजे राजमार्गमा अवरोध हुन्थेन् तर लेन अनुशासनको कमीले दोहोरो लेनकै जामले एम्बुलेन्स न त फर्काउन मिल्ने न अगाडि बढाउन मिल्ने भएपछि बुधबार बिहान २ बजे घाइतेहरुलाई काठमाडौं पुर्‍याइयो । समयमा उपचार पाउन नसक्दा गंगाजमुना गाउँपालिका–३ का ५० वर्षीय होमबहादुर घलेको एम्बुलेन्समै मृत्यु भयो । 

गत सोमबारदेखिको जाम भने कुनै ढुवानी साधन बिग्रेर हैन । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वर शान्तिनगरमा अज्ञात व्यक्तिहरुले  दिनदहाडै गोली हानेर हत्या गरेपछि प्रहरीले खोजतलास अभियान तीव्र बनाएको छ । हत्याराहरु राजधानीबाट भाग्न नदिन सयौं प्रहरीहरुले कलंकीदेखि नागढुङ्गासम्म बाहिरिने सवारी साधनहरु चेकजाँचकै क्रममा घण्टौ जाम हुने गरेको छ । मंगलबारको सवारी जाम धादिङ धार्केदेखि काठमाडौंको त्रिपरेश्वरसम्म थियो । जामले राजधानीका अन्य सबै सडकलाई त्यत्तिकै प्रभाव पारेको थियो । हत्यारा पत्ता लगाउने क्रममा लाखौं यात्रुहरुले विगत ३ दिनदेखि थप सास्ती पाइरहेका छन् । 

सवारी जामले एम्बुलेन्समै बिरामी मृत्यु हुने, सुत्केरी हुने घटना नौलो हैन । नुवाकोटबाट उपचारार्थ ल्याउँदै गरेका पूर्वआईजीपी डिबी लामाको पनि केही वर्षअघि नौबिसे जाममा मृत्यु भएको थियो । अन्य समयमा जामले मृत्यु हुनेहरुको लेखाजोखा कसैले राख्ने गरेका छैनन् । 

उकालो र घुमाउरो मोडहरु, साँघुरो सडक, राजधानी भित्रिने मुख्य नाका नौबिसे–नागढुङ्गा सडकखण्डमा दैनिकजसो देखिने दृश्य हो यो । त्रिभुवन राजपथमा पर्ने यस क्षेत्रमा दैनिक सवारी जामले यात्रु आजित छन् । राजधानी भित्रिने र राजधानी हुँदै पूर्व-पश्चिम हुँदै अन्य ६८ जिल्लामा जाने सवारी जामका कारण यात्रुले कष्टकर यात्रा गर्नुपरेको छ । चाडपर्व मानेर राजधानी फर्कने यात्रुहरुलाई उस्तै सास्ती । चाडपर्वका बेला एक त सवारीको चाप बढ्ने र अर्कोतिर उकालो बाटोमा सडक मापदण्डविपरीत बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारी साधन बाटोमै बिग्रिनाले र ईन्धन सकिएर सडकमै थन्कनले बढी जाम हुने गरेको छ ।

अझ वर्षात्‌को समयमा ठाउँ ठाउँमा पहिरो र सडकमा लेदो माटो खस्दा पनि जाम हुने गरेको छ । सामान्य अवस्थामा आधा घण्टामा पार गर्न सकिने नौबिसेदेखि नागढुङ्गासम्मको बाटोमा दिनहुँजसो जाम हुँदा ४, ५ घण्टासम्म लाग्ने गरेको यात्रुहरुको गुनासो छ । काठमाडौं हिँडेकी सानुमाया पौडेलले भनिन् –'सडकको ठाउँ ठाउँमा खाल्डाखुल्डीले राजमार्गमा यात्रा गर्ने यात्रुहरु गन्तव्यसम्म पुग्दा हिलाम्मे र धुलाम्मे हुनु परेको छ भने अर्कोतिर घण्टौं जाममा पर्नाले समयमा नै गन्तव्यमा पुग्न सकेका छैनन् ।' जाममा परेको बेलामा त २० को पानीलाई ५० रुपैयाँ तिर्नुपरेको यात्रुहरुले बताएका छन् । जाम खुल्नासाथ गन्तव्यमा पुग्न हतार गरिँदा धेरै दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । प्रकाशित : आश्विन २५, २०७४ ११:५१

प्रतिक्रिया
पठाउनुहोस्