कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विराटनगरको यो सडक कि पार्किङस्थल ? [फोटोफिचर]

कान्तिपुर संवाददाता

मोरङ — सवारीसाधनको अव्यवस्थित पार्किङले विराटनगर महानगरपालिका अस्तव्यस्त बनेको छ । ट्राफिक व्यवस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले यहाँका मूल सडक तथा पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको छ तर उक्त सडकपेटी र सडक छेउ अहिले सवारी साधन पार्किङ स्थल बनेको हो ।

औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायत सडक जताततै अव्यवस्थित पार्किङ देखिन्छ । पार्किङ क्षेत्र उल्लेख नभएको ठाउँमा पार्किङ गरेको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार छ । तर, पार्किङ व्यवस्थित गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी मौन छ ।

६ लेन बन्दै गरेको सडक रानी-इटहरीको विराटनगर खण्डमा जताततै मालबाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकललगायत सवारीसाधन पार्किङ हुँदै आएको छ । पूर्वाञ्चल क्षेत्रीय आयल निगम कार्यालयमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने २ सय ५० बढी ट्याङकरको पार्किङस्थल ६ लेन सडक बनेको छ । सडकको दुवै छेउमा लहरै मिलाएर ट्याङकर पार्किङ गरिँदै आएको हो । ट्याङ्कर तथा मालबाहक सवारी साधन ट्राफिक प्रहरीसँगको सेटिङमा सडकमा पार्किङ गर्दै आएको जानकारहरु बताउँछन् । भठ्ठीमोडदेखि रोडशेष चौकसम्म पार्किङ गर्ने भारतीय तथा नेपाली नम्बरको मालबाहक सवारीसाधनबाट अवैध रकम उठाउन २४ सै घण्टा ट्राफिक प्रहरी खटिएको हुन्छ । उनीहरु नेपाली नम्बरका सवारीभन्दा भारतीय नम्बरका सवारी साधनलाई अनेक बहानामा जरिवाना भन्दै अवैध रुपमा रकम असुली गर्दै आएको सवारी चालकहरुले गुनासो पोखे । 

भारतीय मालबाहक सवारीका परबिन्दर सिंहका अनुसार भारतबाट मालसामान बोकेर सुनसरी मोरङ औद्योगिक करिडोरको उद्योगको कच्चा पदार्थ लिएर आउँदा र उत्पादित वस्तु लिएर फर्किंदा एउटा गाडीबाट ट्राफिक प्रहरीले सामान्य रुपमा २/४ हजार असुल्ने गरेको गुनासो पोखे । उनी जस्तै सुनसरी मोरङ करिडोरका १ हजार बढी मालबाहक सवारी चालकसँग यहाँका ट्राफिक प्रहरीको दैनिक २४ सै घण्टा यस्तै व्यवहार भइरहेको चालकहरु बताउँछन् । 

यस्तै, जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर बजारको मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि भन्दै वान–वे गर्दै आएको छ । तर वान–वे बाटोमा जताततै व्यापारीहरुको सवारीसाधन पार्किङ हुँदै आएको छ । ट्राफिक प्रहरीले बजारको मूल सडकस्थित बिप्लट चौकमा वान–वे गरेर सुनचाँदी पसल भएको पूर्व जाने बाटोबाट सवारी साधन सञ्चालन गर्दै आएको छ तर सुनचाँदी पसल बन्द भएको दिन वान–वे नहुने गरेको देखिन्छ । स्थानीय सुनचाँदी पसलेहरुले आफूहरुको पसलमा सर्वसाधारणको ध्यान केन्द्रित गर्न तथा ग्राहक आकर्षित गर्न उक्त बाटोबाट ट्राफिकले वान–वे गर्दै आएको गुनासो गरेका छन् । सुनचाँदी व्यापारीरुले ट्राफिक प्रहरीलाई मासिक अबैध रकम बुझाएर उक्त बाटोबाट सवारी साधन सञ्चालन गराउँदै आएको स्थानीय गोपाल पोख्रेलले गुनासो पोखे ।

विराटनगर बजार क्षेत्रस्थित मूल सडकमा व्यापारी तथा सर्वसाधारणले पार्किङ गरेबापतको शुल्क असुलीका लागि महानगरले गैर कानूनी रुपमा टेन्डर नै लगाएको छ । चालू आर्थिक वर्षमा उक्त शुल्क असुलीका लागि कोसी बहिरा संघ मोरङलाई १ लाख ५१ हजार ८ सय मा टेन्डर दिएको महानगरका बित्त व्यवस्थापन महाशाखा प्रमुख अर्जुन थपलियाले स्वीकारे । गैरकानूनी रुपमा मूल सडकमा पार्किङ गराएर शुल्क असुली गरेबापतसमेत बहिरा संघसँग ट्राफिक प्रहरीले नजराना असुल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले जनायो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफू निर्वाचित हुनु अगाडि नै पार्किङ शुल्क उठाउने ठेक्का लागिसकेकोले महानगरभित्र रहेको बी र सी प्लटमा पार्किङको व्यवस्थापन गर्ने, नभए खाली जग्गा भाडामा लिएर पार्किङ तोक्ने बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले पार्किङ क्षेत्र उल्लेख नभएको ठाउँमा सवारी साधन पार्किङ गरेको पाइएमा तत्काल ५ सयदेखि १५ सयसम्म जरिवाना गर्ने अधिकार भएको बताए । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिनै पार्किङ हुँदासमेत ट्राफिक प्रहरी बोल्न सकेको छैन । जिल्लामा सवारी दुर्घटनामा वर्षेनी भइरहेको वृद्धिको प्रमुख कारण अव्यबस्थित पार्किङ नै भएको ट्राफिक प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७३/०७४ मा ४ सय ७४ दुर्घटनामा १ सय ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांकले जनाएको छ । 

तस्बिर : देवनारायण साह/कान्तिपुर प्रकाशित : आश्विन २९, २०७४ १४:३२

प्रतिक्रिया
पठाउनुहोस्