४० वर्षपछि मनाइयो चेन्द छ्याबा नाच

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — चार दशक पछि मंगलबार धुन्चेका स्थानीय तामाङ समुदायले लोप हुन लागेको चेन्द छ्याबा नाच देखाइएका छन् ।

हरेक वर्ष भाइटीका पछि आउने मंगलबारका दिन यो नाच देखाउने चलन रहेको थियो । २०३५ साल पछि सदरमुकाम धुन्चेमा यो नाच हुन सकेको थिएन । मंगलबार ३९ वर्ष पछि नाच देखाइएको हो । नाच सञ्चालन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको थियो । यो नाचमा वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाबारे प्रस्तुत गरिन्छ ।

नाचमा लामा, सिकारी, कुकुर, झाँक्री, न्याबा र जरायोको मुख्य भूमिका रहेको हुन्छ । ४ देखि ५ घण्टासम्म देखाइने नाचका लागि ३० देखि ५० जना चाहिन्छ । मानव, प्रकृति, जैविक विविधिता र जीवजन्तुबीच सन्तुलन कायम राखी यी सबैको संरक्षण र सम्वर्द्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्छ भन्ने यो नाचले सन्देश दिन खोजेको स्थानीयले बताए ।

नाच सञ्चालन नहुनुमा अहिलेको युवा पिढीलाई यो नाचको विषेशता थाहा नहुनु रहेको धुन्चेका युवा प्रमोद तितुङले बताए । 'आर्थिक अभाव, आ–आफ्नो कामको व्यस्तताले समय दिन नसक्दा पनि नाच देखाउन सकिएको थिएन,' उनले भने ।

नाच्न जानेका पुरान पुस्ताको मृत्यु भइसकेपछि पछिल्लो पुस्ताले नाच सिक्न नसक्दा नाच लोप हुने अवस्थामा पुगेको थियो । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह धुन्चेले कार्यक्रमको आयोजना गरेको हो । स्थानीय कलासंस्कृतिक लोप हुन थाले पछि धुन्चेका स्थानीय युवाहरु कला संकृतिको जगेर्ना गर्न जुटेका छन् ।

टुल्कु छोलिङ गुम्बाका लामा, लामा कार्पू घलेले भने अब संस्कृति जोगाउनका लागि युवालाई पनि समेटेर अघी बढेका छौं । हाम्रो संस्कृति परम्परा तथा रितिरिवाजको जर्गेना गर्न एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन आवस्यक रहेको संस्थाका सदस्य विसाल घलेले बताए ।

प्रकाशित : कार्तिक ८, २०७४ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्