कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्दर पश्चिम

सुरज कुँवर

काठमाडौं — भारतको उत्तराखण्ड अनि चीनको तिब्बतसँग सीमा जोडिएको सुदूरपश्चिमलाई अहिले सुदूर होइन सुन्दर पश्चिम भनी चिनाउनेहरू निकै छन् । सुदूर भनिएकै कारण विकासमा अन्य क्षेत्रभन्दा पछि परेको उनीहरूको तर्क छ ।

किनकि यो पश्चिमी कुनोको नामको अगाडि सुदूर शब्द थपिएसँगै पर्यटन र पूर्वाधार विकासमा नकारात्मक प्रभाव परेको मानिन्छ । 

दसैंपछि अनि तिहारअघि म कैलाली, कञ्चनपुर हँुदै डोटी, डडेल्धुरा भएर अछाम पुगें । यस बेला यहाँको मुख्य अन्नबाली धान भित्र्याउने सिजन पर्दो रहेछ । यहाँ पनि अन्य क्षेत्रमा जस्तै खेतीपाती महिलाकै काँधमा देखियो । किसानहरू धमाधम धान भित्र्याउन लागिपरेका देखिन्थे ।

तराईका भित्री देहातदेखि लिएर मध्यपहाडको खोच हुँदै बग्ने सेती र बुढीगंगा किनारमा धान काटिसकेका किसान, अर्को हिउँदे बाली गहुँ लगाउन गोरु जोत्दै थिए । सरकारले कृषिमा श्रमिक पलायनको समस्यालाई सम्बोधन गर्न यान्त्रीकरणमा जोड दिएको छ । तर, यहाँ यन्त्रको दाँजोमा कृषि पशु र महिलाकै भरमा देखियो । कलकल बग्ने खोलाबाट सिँचाइ गर्न नसकिएका हेक्टरका हेक्टर बाँझा खेतखलियान देख्दा सरकारको पहुँच नपुगेकै भान भयो । 

सुदूरपश्चिमको दार्चुलादेखि कञ्चनपुर बझाङदेखि कैलालीसम्म देउताको दाँजोमा धेरै देवीका मन्दिर छन् । त्यसैले यो भेगलाई भगवतीहरूको राजधानी पनि मानिन्छ । देवी पूजा हुने पर्व जात्रा धेरै छन् । तर, चाडपर्वमा महिलाहरूमाथिको जिम्मेवारी, चुल्हो, पाहुना खानपान, खेतीकिसानीमा पनि खनजोत र भारी बोकाइमा महिलाकै उपस्थिति बढी देखियो । देवी पूजक पुरुषहरू मदिरा, जुवातास र बकम्फुसे गफमै रमेका देखिन्थे ।

राजनीतिक चेतना अत्यधिक भएको अनि राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका लागि उर्बर मानिने यो भूमिमा घट्दै गएको जातीय छुवाछूत र विभेदले भने समाजमा भइरहेको परिवर्तनलाई देखाउँथ्यो । सबैभन्दा सकारात्मक सञ्चार क्षेत्रमा देखियो । हात–हातमा मोबाइल, सामाजिक सञ्जालसँगको कनेक्टिभिटी, एमएफ रेडियोहरूको बाक्लो उपस्थितिले भने युवा पुस्तालाई एकै ठाउँमा उभ्याएको देखियो । प्रविधिको यो परिवर्तनमा सुदूरपश्चिम सुन्दर पश्चिम देखिन्थ्यो । 

 

प्रकाशित : कार्तिक १८, २०७४ १४:२८

प्रतिक्रिया
पठाउनुहोस्